‘२ नम्बरी’को शिर्ष गीत तयार पार्नेलाई ५० हजार पुरस्कार
असोजको २१ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘२ नम्बरी’को शिर्ष गीत अब नयाँ प्रतिभाशाली कम्पोजरले तयार गर्न पाउने भएका छन् । उत्कृष्ट गीतलाई ५० हजार नगद पुरस्कार दिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिएका छन् । साथै, उत्कृष्ट गीतलाई रेकर्ड गराएर फिल्ममा समेत समावेश गर्ने निर्माणपक्षले बताएको छ । किरणले भने–‘‘प्रतियोगीतामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन् । फिल्मको टिजर हेरेर गीत तयार पार्न सकिनेछ ।’
लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै शैलीको गीत भएपनि फरक नपर्ने निर्माणपक्षले बताएको छ । तर, कुनै पनि व्यक्तिले एउटा सिंगो गीत कम्पोज गरेर रफ फाइल पठाउनुपर्ने मेकरले बताएका छन् । आवश्यक परेको खण्डमा निर्माणपक्षले नै लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक दीपेन्द्र लामाले बताए । भदौको ३१ गतेभित्र गीत तयार गरेर पठाउनुपर्नेछ । तयार भएको गीत [email protected] इमेल ठेगानामा पठाउनुपर्नेछ ।
गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई गोप्य राखेको छ । किरण नेपालीको प्रस्तुति र दीपेन्द्र लामाको निर्देशन गरेको फिल्म ‘२ नम्बरी’ आगामी असोज २१ गते रिलिज हुनेछ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । चलचित्रको एउटा गीत केही दिनपछि रिलिजको तयारीमा रहेको छ ।
प्रतिक्रिया