सुदर्शनको च्यालेञ्ज र ब्यङ्ग्य कसलाई ?

निर्देशक सुदर्शन थापा सोमबार फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत रिलिज कार्यक्रममा खुलेरै बोले । गीत रिलिज कार्यक्रममा उनले नायिका पूजा शर्माको बिषयमा उठेको प्रश्नदेखि फिल्म मेकिङको बिषयमा केही कलाकारलाई चुनौती दिए भने केही मेकरलाई ब्यङ्ग्य कसे ।

विशेषगरि, नायिका पूजा शर्माले रोएर फिल्म चलाएको भन्नेलाई सुदर्शनले चुनौती दिए । उनले भने–‘मैले म यस्तो गीत गाउँछु २ को प्रिमियरदेखि आजसम्म भएका सबै कार्यक्रममा यही बिषय नै उठेको पाएको छु । कोही हिरोले हाँसेर फिल्म चलाउँछु भनेको छ, कोही हिरोइनले रोएर फिल्म चलाउँदिन भनेको छ । ए हजुर, निर्माता रोएका छन् तपाइको फिल्मले । जे जसो गर्नुहोस् तर फिल्म चलाइदिनुहोस् प्लिज ।’

सुदर्शनले फ्लप फिल्म दिएपनि पूजामाथि ब्यङ्ग्य प्रहार गर्ने कलाकारलाई मात्र होइन केही मेकरलाई पनि छाडेनन् । यो बर्ष रिलिज भएका अधिकांश नेपाली फिल्म असफल भैरहेको कारण खोतल्दै उनले भने–‘फिल्ममा दर्शकलाई कतै उपदेश दिएको छ, कतै पाठ सिकाएको छ । दर्शकले पाठ, उपदेश त आफ्नो जीवनको हरेक पाइलामा सिकिरहेका हुन्छन् । साथीसँग बस्दा पनि पाठ, घर पुग्यो अर्को उपदेश । यसो यी सबै कुराबाट वाक्क भएर हलमा जाँदा पनि पाठ र उपदेश छ । दर्शकलाई फिल्मबाट मनोरञ्जन दिनुपर्यो के । हलको सिटमा बसेर दर्शकले दुःख विर्सनु पर्यो के ।’

उनले, भदौ १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट दर्शकले उपदेश, शिक्षा केही नपाउने तर पूर्ण मनोरञ्जन पाउने बताएका छन् ।