‘राधा र प्रकाश’को टिमलाई बिहिबार नै फिल्म लगाउन बोर्ड अध्यक्षको आग्रह

शुक्रबारदेखि रिलिज हुन लागेका २ नेपाली फिल्म ‘राधा र प्रकाश’लाई बिहिबारबाट नै लगाउन चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आग्रह गरेका छन् । उनले, सोमबार दुबै फिल्मका निर्मातालाई फोन गरेर बिहिबारदेखि फिल्म चलाउन आग्रह गरेका हुन् । दुबै फिल्मका निर्माताले सोच्नका लागि आजसम्मको समय मागेका छन् ।

हिन्दी फिल्म ‘लाइगर’ नेपालमा बिहिबारदेखि नै रिलिज हुँदैछ । भारतमा पनि बिहिबारदेखि नै फिल्म रिलिज हुने भएकाले नेपालका वितरकले पनि यो फिल्मलाई सोही मितिमा रिलिज गर्न लागेका हुन् । यसरी, बिहिबार नै ठूलो हिन्दी फिल्म रिलिज हुँदा शुक्रबारदेखि रिलिज हुन लागेका २ नेपाली फिल्म प्रभावित हुने निश्चित छ ।

चलचित्र विकास बोर्डले नीतिको अभावमा हिन्दी फिल्मको बिहिबार रिलिज रोक्न सक्ने अवस्था छैन । यसकारण, भूवनले २ नेपाली फिल्मलाई नै बिहिबार रिलिज गर्न आग्रह गरेका हुन् ।

विकास बोर्ड अध्यक्षले बोर्डसँग सेन्सर भैसकेको फिल्मको रिलिज रोक्ने अधिकार नभएको तर्क गरेका छन् । बरु, यसका लागि आफूले पहल गर्ने र चाडै नै यो बिषयमा नतिजामा पुग्ने भूवनको भनाई छ ।