आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा भुवन केसीको मुद्दा
चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा नरेश पौडेलसहित ५ जनाले हालेको मुद्दाको आज पनि छिनोफाने नहुने भएको छ ।
सोमबार पेशी तोकिए पनि सर्वोच्च अदालतले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । अध्यक्ष केसीको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै दायर रिटमाथिको अर्को सुनुवाई भदौ १३ गते हुने भएको छ । निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति भदौ १३ गतेलाई तय गरिएको जानकारी दिए । केसी विरुद्धको यो मुद्दा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको थियो ।
केसीको शैक्षिक योग्यतामाथि प्रश्न पठाउँदै निवेदकले मन्त्रिपरिष्दको निर्णयलाई विपक्षी बनाइ गत साउन ३० गते मुद्दा दर्ता गरेका थिए । अदालतले यसको तीन दिनपछि अर्थात् भदौ २ मा यसको पहिलो पेसी तोकेको थियो । सो दिन अदालतले अन्तरिम आदेश नदिने निर्णय गर्दै निर्णय समयका फाइल झिकाउने आदेश दिँदै आज सोमबारका लागि अर्को पेसी तोकेको थियो । तर अदालतले आज पनि यो मुद्दालाई हेर्न नभ्याउने सूचीमा राखेको छ ।
सञ्चार मन्त्रालयले भुवन केसीलाई बोर्ड अध्यक्षको रुपमा नियुक्तिका लागि मापदण्ड घटाएको निवेदकहरूको जिकिर छ । बोर्ड अध्यक्षका लागि ब्याचलर पास गरेको हुनुपर्ने मापदण्ड मिचेर सोभन्दा कम योग्यता भएका केसीलाई नियुक्ति दिएको निवेदकले निवेदनमा उल्लेख गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालसालै मात्र बोर्ड अध्यक्षमा केसीलाई मनोनयन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया