हल नै नभएको जुम्लाको तिर्खु गाउँमा ‘प्रकाश’को विश्वव्यापी प्रिमियर

जुम्लाको दुर्गम गाउँ तिर्खुमा पहिलो पटक प्रदर्शन गर्दै फिल्म ‘प्रकाश’ विश्वव्यापी प्रिमियर गरिएको छ । भदौको १० गतेबाट रिलिज हुन लागेको यो फिल्मको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋणमोक्ष माध्यमिक बिद्यालयको परिसरमा भव्य प्रिमियर गरिएको हो ।

फिल्म हल समेत नभएको उक्त गाउँमा प्रोजेक्टरको माध्यमबाट फिल्म देखाइएको हो । बिजुली पनि नभएका कारण फिल्मको टिमले जेनेरेटर पनि आफै लगेको थियो । यो फिल्मको प्रिमियरमा नायक प्रदीप खड्का र लेखक विकास सुवेदी उपस्थित थिए । यी दुबैलाई स्थानीयबासीले झाँकी र स्थानीय सस्कार अनुसार फुलमाला र फेदा लगाइदिएर स्वागत गरेका थिए ।

यो फिल्मको छायांकन ४५ दिनसम्म तिर्खु गाँउमा नै गरिएको हो । निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहनसहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनता माझ फिल्मको प्रिमियर गरिएको बताए । प्रिमियरमा उपस्थित स्थानीय जनताहरुले आफ्नो भोगाई फिल्ममा हेर्न पाएको भन्दै प्रशंसा गरेका थिए । प्रिमियर पछि एक स्थानियले फिल्म हेर्दै गर्दा आफ्नै भाइ–छोरा, छोरी, आमालाई नै पर्दामा देखेको जस्तो अनुभुति भएको प्रतिक्रिया दिए ।

धेरै स्थानिय बासिन्दाले आफुहरुले भोग्दै आएको वर्ग विभेद फिल्ममा प्रष्टसँग देख्न पाइएको पनि बताएका छन् । राज्यबाट उपेक्षित हुनु परेको भन्दै उनीहरुले आफुहरुको वास्तविक जीवन शैली बुझ्न पनि फिल्म हेरिदिन आग्रह गरे ।

स्थानियको प्रतिक्रिया पछि नायक प्रदिप खड्काले ‘प्रकाश’को प्रिमियर आफ्ना लागि सम्झन योग्य क्षण भएको बताएका छन् । उनले फिल्मलाई स्थानीयले दिएको मायाले उत्साहित बनाएको बताए ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिकास सुबेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।