‘झिङ्गे दाउ’ आँचलको डेब्यू फिल्म

समाचारको शिर्षक पढेर तपाई झुक्किनुहोला । किनकी, आँचलले त ६ बर्ष अगाडि नै फिल्म ‘नाई नभन्नु ल ४’बाट डेब्यू गरेकी थिइन् । उसो भए, ६ बर्षपछि फेरि किन आँचलको डेब्यू हुँदैछ भनेर तपाई सोच्न सक्नुहुन्छ । तर, लकडाउनपछि फेरिएको विश्व फिल्मको माहोललाई नियालेपछि आँचलले भदौको १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘झिङ्गे दाउ’लाई डेब्यू भनेकी हुन् ।

आँचलले भनिन्–‘मैले ६ बर्ष त यहाँ काम नै गरेको छैन जस्तो लाग्छ । यसअर्थमा झिङ्गे दाउ’ मेरो लागि डेब्यू फिल्म हो ।’

आँचलले लकडाउनपछि आफ्नो सोच फेरिएको बताएकी हुन् । उनले भनिन्–‘लकडाउन अगाडि फिल्ममा काम गर्दा मैले कहिले पनि गम्भिर भएर सोचिनँ । जहिले पनि, फिल्ममा काम गर्दा हलुका रुपमा लिएँ । कामलाई कामको रुपमा मात्र लिदा मैले धेरै कुराको अनुभुती नै गर्न पाएकी रहेनछु ।’

आँचलले अब आफूले फिल्म क्षेत्र नै आफ्नो सबथोक हो भनेर वुझेको तर्क समेत गरेकी छिन् । यसअर्थमा, उनको मनले अझै धेरै काम मागेको छ । उनलाई अब थोरै कामले नपुग्ने भएको छ । आँचलले यो फिल्मबाट आफ्नो नयाँ जन्म हुने समेत बताएकी छिन् । अबका दिनमा गम्भिर भएर काम नगर्ने हो भने आफूलाई अरुले उछिन्ने कुरामा समेत उनी सचेत छिन् ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्ममा मुकुन भुषाल, आँचल शर्मा, केकी अधिकारी र कुशल बिष्ट मुख्य भूमिकामा छन् ।