‘जब रेखाले मलाई सुदर्शनसँग प्रेमको प्रश्न किन गरेको भन्दै फोन गरिन्…’
विजय ‘आवाज’
आठ बर्ष अगाडिको कुरा हो । नायिका रेखा थापाले आफैले निर्देशक श्याम भट्टराइलाई निकालेर फिल्म ‘हिम्मतवाली’ निर्देशन गरेकी थिइन् । रेखाको बक्स अफिसमा दबदबा बबाल नै थियो । बक्स अफिसमा मात्र होइन, फिल्म क्षेत्रमा पनि उनीसँग टक्कर लिन चलेका नायकले सक्दैनथ्य ।
यो फिल्ममा कलाकारको रुपमा सुदर्शन गौतमले डेब्यू गरेका थिए । भन्नेहरु त भन्छन्, रेखाले श्यामलाई सुदर्शनको लहलहैमा लागेर फिल्मबाट निकालेकी थिइन् । फिल्म दशैंको फूलपातिबाट रिलिज हुँदै थियो । महाराजगञ्जमा रहेका तत्कालिन रेड स्टूडियोको परिसरमा क्यामेराको घेरामा रहेका सुदर्शनले फिल्मको भन्दा बढी रेखा थापासँगको प्रेम सम्बन्धको बिषयमा जवाफ दिनु परेको थियो । सो समयमा रेखा र सुदर्शनको प्रेमको खबर जोडतोडले चलेको थियो । हुनत, रेखाको प्रेमको खबर उनीसँग काम गर्ने सबै नायकसँग चल्थ्यो ।
सुदर्शनसँग भएको कुराकानीलाई अक्षरमा उतारेर अनलाइनखबरमा प्रकाशित गरेपछि मलाई रेखा थापाले फोन गरिन् । रेखाले फोन गर्ने वित्तिकै ‘सुदर्शनसँग गरिएको कुराकानीमा प्रेमको कुरा किन सोधेको’ भन्दै भनाभन गर्न थालिन् ।
रेखासँग यो बिषयमा करिब आधा घन्टा फोनमा सबाल जवाफ नै भएको थियो । हुनत, रेखासँग समाचारका बिषयमा लफडा नभएका पत्रकार कमै मात्र थिए होलान् । रेखाले मेरो बारेमा समाचार नै नलेख्नु भनेर कैयौं पत्रकारलाई भनेकी छिन् । तर, पनि रेखाको बिषयमा गसिप आज पनि निरन्तर छापिरहेका छन् ।
बक्स अफिस र गसिपमा सधै हिट रेखा
रेखा थापा बक्स अफिसमा असफल पछिल्ला केही बर्षमा मात्र भएकी हुन् । होइन भने ‘हिरो’ फिल्मबाट डेब्यू गरेदेखि हिट भएकी यी नायिका निरन्तर सफल भइन् । पछिल्ला फिल्म ‘रुद्रप्रिया, मलिका’ लगायतले बक्स अफिसमा काम नगर्न नसकेपछि मात्र रेखालाई झट्का लागेको हो । होइन भने ‘अजम्बरी नाता, हिम्मत, हिफाजत, कसले चोर्यो मेरो मन, अन्दाज, काली’ लगायतका फिल्मले त रेखालाई फिल्म क्षेत्रको नम्बर १ कलाकार बनाएको थियो । रेखाको उपस्थितीले मात्र पनि हलमा ठूलो हुटिङ र सिट्टी बज्थ्यो । रेखाको फिल्म चल्दा अरु निर्माताले फिल्म जुधाउने आँट नै गर्न सक्दैनथ्य ।
जसरी रेखा थापा बक्स अफिसमा हिट थिइन्, त्यसरी नै उनी गसिपमा पनि हिट थिइन् । कहिले पत्रिकाको अफिसमा नै पुगेर पत्रकार कुट्ने, कहिले प्रचण्डसँग सिंहदरबार अगाडि नाँच्ने काम उनले गरिन् । निर्माता छविराज ओझा र रेखा थापाविचको डिभोर्सको खबरले पनि कैयौ फिल्म चल्नमा ठूलो मद्दत गरेको छ । राउटेका बच्चाहरुलाई ल्याएर काठमाडौंमा पढाउने योजना अगाडि सारेर पनि उनी चर्चामा आइन् ।
अब, उनको नाम त उनले काम गरेका हरेक हिरोसँग जसरी जोडियो, त्यसरी नै सम्बन्ध पनि तोडियो । नायक राजेश हमाल सुटिङ सेटमा ढिलो आएको भन्दै रेखाले उनीसँग काम नै नगर्ने घोषणा गरिन् ।
विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देल जस्ता हिरोसँग उनी जसरी चलिन्, त्यसरी नै टाढा पनि भइन् । नायकहरुले थोरै मात्र रवाफ देखाउँदा पनि रेखा उनीहरुसँग पानी बाराबारको सम्बन्ध बनाइदिन्थिन् । बलिउडमा सलमान खान जसरी नयाँ नायिका डेब्यू गराउन सिपालु छन्, त्यसरी नै नेपालमा नयाँ नायकलाई फिल्म क्षेत्रमा भित्राउन रेखा माहिर थिइन् ।
नेपाली फिल्म नै नहेर्ने दर्शकले पनि राजेश हमाल र रेखा थापाको नाम सुनेका हुन्थे । अझ, रेखा चम्किएको समयमा अहिलेको जस्तो सामाजिक संजाल थिएन । तर, उनका गीत, फिल्म, लफडा सधै नै मिडियाको पेज थ्रीमा छाइरहेका थिए ।
स्वार्थी हुन् रेखा थापा ?
हुनत, रेखा आफै आफूलाई स्वार्थी भन्न तयार नहुन सक्छिन् । तर, कहिकतै रेखा थापा स्वार्थी पनि हुन् जस्तो मलाई लाग्छ । उनी, आफूलाई तारिफ गर्ने झुण्डमा मात्र बढी रमाउँछिन् । आलोचना सहन नसक्ने उनको बानी आज पनि गएको छ जस्तो मलाई लाग्दैन । सानो समुहमा हिड्ने तर वरिपरी प्रशंसा मात्र सुन्न चाहने बानीले पनि उनलाई फिल्म क्षेत्रमा घाटा लागेको छ ।
कलाकार सधै नै प्रशंसाको बाटोमा मात्र दौडिन्छ भन्ने हुँदैन । रेखाले जीवनमा प्रशंसा खुबै पाएकी छिन् । तर, उनले जीवनमा आलोचना पनि सुन्नुपर्छ भनेर संझाउने मानिसको संगत नै गरिनन् । यसैले, पनि उनका सम्बन्धहरु जति जोडिएका छन् त्यती नै तोडिएका पनि छन् ।
हिरोइज्मको परिभाषा नै बदलिन्
नेपाली फिल्म क्षेत्रमा हिरोहरुको दबदबा रहेको समयमा उभिएकी यी नायिकाले हिरोइज्मको परिभाषा नै बदलेकी छिन् । नायिकाले पनि बक्स अफिसमा चमत्कार गर्न सक्छन् भने सन्देश उनले आफ्नो फिल्मबाट दिएकी छिन् ।
हिरोसँग झगडा गर्दा फिल्म नै पाइदैन कि भनेर थुप्रै नायिका डराउँदा रेखाले सो बेलामा चलेका नायकहरुसँग झगडा मात्र गरिनन्, सम्बन्ध नै टुटाइदिइन् । राजेश हमालको बिषयमा बोलेर थुप्रै कलाकारलाई ब्याक फायर हुँदा, राजेशसँग पछि नहट्ने एक मात्र नायिका थिइन् रेखा ।
नेपाली फिल्म क्षेत्रले अर्की रेखा थापा फेरि जन्माउन सक्ला कि नसक्ला त्यो भोलीको कुरा हो । तर, आजका दिनसम्म पनि रेखा थापाको स्थान र उनको जस्तो स्टारडम बोकेर नयाँ नायिका यो फिल्म क्षेत्रमा आएका छैनन् ।
थुप्रै महिला तथा यूवतीहरुमा आशाको संचय गराइदिने यी बोल्ड नायिकालाई जन्म दिनको धेरै धेरै शुभकामना ।
प्रतिक्रिया