‘कृष्णलीला’मा पुष्पको तारिफयोग्य अभिनय, श्रद्धाले देखाइन् संभावना

एक दुईवटा फिल्म खेलेर हराउन आएकी होइन भन्ने नायिका श्रद्धा क्षेत्रीले शुक्रबारदेखि रिलिज भएको फिल्म ‘कृष्णलीला’बाट राम्रो संभावना देखाएकी छिन् । दीपक वली निर्देशित फिल्मको शिर्ष भूमिकामा देखिएकी श्रद्धाले अभिनय पनि राम्रो गरेकी छिन् । फिल्ममा प्रेमिका र प्रहरी अफिसर्सको भूमिकामा देखिएकी श्रद्धाको अभिनयले दर्शकलाई निराश बनाउँदैन ।

४ बर्ष अगाडि नै छायांकन भएकाले पनि श्रद्धाले अभिनयमा सुधार गर्नुपर्ने ठाउँहरु धेरै देखिन्छन् । तर, पछिल्लो समय आफूलाई निखार्दै अगाडि बढाएकी यी सुन्दरीले आगामी दिनमा अझै मिहिनेत गर्ने हो भने फिल्म क्षेत्रमा उनको अगाडिको बाटो सुखद देखिएको छ ।

यस्तै, अभिनयमा बारम्बार आफूलाई पुष्टी गर्दै आएका नायक पुष्प खड्काले यो फिल्मबाट पनि आफूलाई बलियो रुपमा प्रस्तुत गरेका छन् । अटिजम भएको एक यूवाको भूमिकामा देखिएका उनले फिल्ममा गरेको भूमिकाले दर्शकको मन छुन्छ ।
पुष्पले आफ्नो अभिनयदेखि डबिङमा पनि खुबै मिहिनेत गरेको देखिन्छ । ‘मङ्लम’ फिल्ममा पनि केही फरक भूमिका गरेर दर्शकको मन जितेका पुष्प यसमा पनि सफल भएका छन् । लिलाको प्रेममा निरन्तर लागिरहेको कृष्णको भूमिकामा देखिएका पुष्पले कतिपय ठाउँमा त दर्शकलाई रुवाएका पनि छन् ।

निर्देशक दीपक वलीले भने जस्तै यो भूमिका पुष्प बाहेक अरुले गर्ने संभावना कम नै थियो । जसलाई पुष्पले न्याय गरेको देखिन्छ । फिल्मले औषत व्यापार गरेपनि आफ्नो कामले पनि पुष्प र श्रद्धाले दर्शकलाई निराश बनाएका छैनन् ।