बक्स अफिसमा शुक्रबार रिलिज भएका तिनै फिल्म कमजोर

शुक्रबार र शनिबारको समेत बिदाको फाइदा उठाउन नसकेका ३ नेपाली फिल्म बक्स अफिसमा कमजोर देखिएका छन् । दीपक वलीको निर्देशनमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘कृष्णलीला’ले पनि खासै गतिलो व्यापार गर्न सकेन । मेकरले फिल्मको कमाई त सार्वजनिक गरेका छैनन् । तर, फिल्मलाई दर्शकले खासै रुची देखाएको पाइएन ।

यस्तै, समीक्षागत रुपमा निक्कै नै तारिफ पाएको फिल्म ‘प्रेमगञ्ज’लाई केही फाइदा त मिल्यो तर त्यतीले मात्र पर्याप्त हुने अवस्था छैन । परिच्छेद सेनको निर्देशनमा तयार भएको एउटा उत्कृष्ट लभ स्टोरी फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, नरेश पौड्याल, राइडर प्रशान्त लगायतका कलाकारको अभिनय छ । यो फिल्मको व्यापार पनि २ दिन उत्साहपूर्ण देखिएको छैन ।

शुक्रबारदेखि नै रिलिज भएको रञ्जित रौनियार निर्देशित फिल्म ‘माइकल अधिकारी’ पनि बक्स अफिसमा कमजोर देखिएको छ । सौगात मल्ल र श्रृष्टी श्रेष्ठको जोडी अभिनित फिल्मलाई औषत प्रतिक्रिया मिलेको छ । फिल्मको ट्रेलरले राम्रै चर्चा कमाएपनि हलमा दर्शकको उपस्थिती भने त्यो अनुसार देखिएन ।

फिल्म ‘कबड्डी ४’पछि चिसिएको नेपाली फिल्मको व्यापार भदौको पहिलो सातासम्म आइपुग्दा पनि उत्साहप्रद नदेखिदा रिलिजको लाइनअपमा रहेका फिल्मको अवस्था के होला भन्ने चिन्ता बढ्न थालेको छ ।