बक्स अफिसमा इ–सेवा भर्सेस खल्तीकोे भिडन्त
हुनत, आजबाट तीन नेपाली फिल्म रिलिज हुँदैछन् । तर, फिल्म ‘कृष्णलीला’लाई छाड्ने हो भने बक्स अफिसमा दुई डिजिटल कम्पनीविचको भिडन्त जस्तो देखिएको छ । आजबाट रिलिज भएको ‘माइकल अधिकारी र प्रेमगञ्ज’लाई दुई डिजिटल कम्पनीले साथ दिएका छन् ।
झट्ट हेर्दा बक्स अफिसमा यी दुई कम्पनीविचको भिडन्त नै हुने देखिएको छ । फिल्म ‘माइकल अधिकारी’लाई ई–सेवाले सहयोग गरेको छ । ई–सेवाबाट १ रुपैयाँमा टिकट काट्न पाइने अफर दर्शकलाई दिइएको छ ।
झट्ट हेर्दा १ रुपैयाँमा टिकट काटेर फिल्म हेर्दा निर्मातालाई के फाइदा हुन्छ भन्ने पनि लाग्न सक्छ । तर, रञ्जित रौनियार निर्देशित यो फिल्मको टिकट १ रुपैयाँमा दर्शकले काट्न पाउनेछन् भने बाँकी रकम ई–सेवाले भरपाई गर्नेछ ।
यस्तै, परिच्छेद सेनद्धारा निर्देशित मास्टरपिस फिल्म ‘प्रेमगञ्ज’लाई खल्तीले साथ दिएको छ । यो फिल्मको टिकट काट्दा दर्शकले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । अर्थात तपाइले काटेको टिकटको आधा प्रतिशत त क्यासब्याक नै पाउनुहुनेछ ।
बक्स अफिसमा निरन्तर फिल्म असफल भैरहेको समयमा निर्माताहरुले हलसम्म दर्शक तान्न यो अफर ल्याएका हुन् । दुबैले आफ्नो फिल्म उत्कृष्ट रहेको दाबी गर्दै गर्दा हलसम्म दर्शक तान्नका लागि ल्याएको अफरले दुई डिजिटल कम्पनीविचको भिडन्त जस्तै देखिएको छ । हेरौ, दर्शक कुन अफरमा बढी आकर्षित हुने हुन् ।
प्रतिक्रिया