नेपाल आइपुगे अमेरिकन आइडलका फाइनलिस्ट आर्थर गन
गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता रहेका आर्थर गन भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेल काठमाडौं आइपुगेका छन् ।
आर्थर आफ्नो पहिलो नेपाल कन्सर्टका लागि बुधबार अपरान्ह अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलमा उनलाई स्वागत गर्न फ्यानको बाक्लो भीड थियो । काठमाडौंमै जन्मिएका दिवेश सांगीतिक मञ्चमा चाहिं अर्थर गन नामले चर्चित छन् ।
विमानस्थलमा आउँदा उनी नेपाली ढाकाटोपीमा सजिएको देखिए । आर्थरसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन् ।
उनले काठमाडौंसहित मुलुकका सात सहरका कन्सर्ट गर्दैछन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा आर्थर गनलाई आफ्नो होम कमिङ टुरका लागि नेपाल ल्याएको हो । उनको भदौ ४ गते काठमाडौंमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुँदैछ ।
कन्सर्टको व्यवस्थापन आयोजक ब्रेन सर्भिसिङले हेरिरहेको छ । नेपाल बसाइमा उनले पर्यटन र संस्कृति प्रवद्र्धनका कार्यक्रममा समेत भाग लिने बताइएको छ।
आर्थरलाई भव्य स्वागतसहित कलंकीस्थित घरमा लैजाने कार्यक्रम छ । सन् २०२० को अमेरिकी आइडलको संस्करणमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आइपुगेका हुन् ।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल अठारौं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढेको थियो। प्रायः दर्शकले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् । जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स् क्लियर वाटर रिभाइभल्को ह्याब् यु एभर सिन द रेन नामक गीत गाएका थिए। उनको प्रस्तुतिलाई सबै निर्णायकद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि इज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन्।
प्रतिक्रिया