एउटा उत्कृष्ट लभ स्टोरी फिल्म ‘प्रेमगञ्ज’

भदौ ३ अर्थात शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली फिल्म ‘प्रेमगञ्ज’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । फिल्मको टिम, पत्रकार, बैंकर्स र केही फिल्मीकर्मीको उपस्थितीमा फिल्मको प्रिमियर गरिएको हो । यो फिल्म हेरेका अधिकांश फिल्मीकर्मी र दर्शकले यसलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् । अधिकांशले लामो समयपछि एउटा पर्फेक्ट लभ स्टोरी फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका थिए ।

निर्मात्री शर्मिला पाण्डेले परिच्छेद सेनको डेब्यू निर्देशनमा बनेको फिल्म उत्कृष्ट रहेको सुनाइन् । उनले, फिल्मको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय सबै उत्कृष्ट रहेको बताए ।

फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बाँनिया, नरेश पौड्याल, रश्मी भट्ट, पवन भट्टराइको साथमा नव–कलाकारहरु राइडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का लगायतको अभिनय छ । संजय लामाले काठमाडौं र काभ्रेको दृश्यलाई उत्कृष्ट तरिकाले खिचेका छन् ।

पहिलो हाफ फिल्मका केही दृश्य दोहोरिदा खल्लो लाग्न सक्छ । रिलिजको ३ दिन अगाडि नै प्रिमियर गरेकाले फिल्मका अनावश्यक दृश्य काट्ने समय निर्माणपक्षसँग छ । तर, निर्देशक सेनले फिल्ममा गज्जबको स्टोरी भनेका छन् । तिन यूवा यूवतीको २ उमेर समुहमा हुने प्रेमको कथा यसमा उठाइएको छ ।

कलाकारहरु सबैको काम उत्कृष्ट छ । तेज गिरी नयाँ भएर पनि फिल्मलाई लिड गरेका छन् । बेनिशा हमालको इन्ट्रीपछि फिल्मले नयाँ मोड लिन्छ । बेनिशाले आफू किन राष्ट्रिय चलचित्र पुरस्कार जित्न सक्ने नायिका हुँ भनेर प्रमाणित गरेकी छिन् ।

नयाँ कलाकारहरुमा राइडर प्रशान्त र सिम्रन खड्का जमेका छन् । सुप्रिया इनोसेन्ट भूमिकामा जम्न सक्छिन् । सम्पदा बाँनिया र तेज गिरीको कथा कही कतै मिस लाग्न सक्छ । बेनिशा हमालले आफूलाई पैसाका लागि शरीर बेच्ने एक महिला र असल प्रेमिकाको भूमिकामा गज्जबले न्याय गरेकी छिन् । दुबै भूमिकाले बेनिशालाई फिल्म क्षेत्रमा बलियो तरिकाले उभ्याइदिएको छ ।

फिल्मको कथा वाचन गर्ने शैली गज्जबको छ । निर्देशकले ३ घन्टाको फिल्ममा पनि दर्शकलाई बाँध्न सफल हुनु उनको खुबी हो । फिल्मको क्लाइमेक्सले दर्शकलाई मौन बनाउँछ । प्रेमका लागि एक प्रेमीले गरेको त्याग र पागलपना साच्चिकै मन पगाल्छ ।

समग्रमा, यस्तो खालको कथा वाचन नेपाली फिल्ममा निक्कै कम भेटिन्छ । पटकथामा चुक्ने गरेको नेपाली फिल्ममा ‘प्रेमगञ्ज’ नयाँ आयम हो । फिल्मका संवादहरुमा निरन्तर ताली बज्छ ।

एउटा उत्कृष्ट लभ स्टोरी फिल्म हेर्ने दर्शकका लागि भदौ ३ गतेबाट रिलिज हुन लागेको यो फिल्म उत्कृष्ट उपहार हो । मिस नगर्नुहोला ।