तृप्तीका छोरा धिरजको नेपाली फिल्ममा माया पाउने आशा
फिल्म ‘बाबरी’को ट्रेलर रिलिज कार्यक्रममा पहिलो पटक मिडिया फेस गरेका कलाकार धिरज नाडकर गज्जबको सुनिए । आफ्नी आमा तृत्ती नाडकरले कुनै समय नेपाली फिल्म क्षेत्रमा पाएको चर्चा उनलाई राम्रैसँग थाहा छ ।
फिल्म ‘बाबरी’मा धिरज जोडिनुको कारण पनि, उनकी आमा नै हुन् । तृप्ती लामो समयदेखि भारतमा छिन् । तर, उनलाई आफ्ना छोराले नेपाली फिल्म क्षेत्रमा राम्रो स्थान बनाउन् भन्ने सपना पक्कै होला ।
धिरजले पनि आफू यो फिल्ममा आफ्नी आमाका कारण जोडिएको बताए । तृप्तीलाई फिल्मका लागि अफर गर्दा उनले नै आफ्नो छोरा पनि फिल्मका लागि तयार भएको बताएकी थिइन् । निर्देशक सुरेन्द्र पौडेलले पनि आफूले खोजे जस्तै पात्र भेटेपछि धिरजलाई अनुवन्धित गरे । फिल्मको ट्रेलरमा उनी आशातित सुनिएका छन् ।
धिरज भन्छन्–‘मेरी आमालाई नेपाली दर्शकले दिनुभएको मायाको थोरै मात्र अंश मैले पाउन सके भने पनि म भाग्यमानी ठान्नेछु । आज म यहाँ हुनुको कारण नै मेरी आमा हुनुहुन्छ ।’
धिरजले तृप्तीका सबै फिल्म हेरेपनि ‘साइनो’ विशेष मनपर्ने तर्क गरे । भारतमा केही विज्ञापनमा काम गरिसकेका यी हिरोले ‘बाबरी’बाट आफ्नी आमाले कुनै बेला बनाएको विरासतलाई निरन्तरता दिने सोच बनाएका छन् । नेपाली दर्शकले उनलाई माया गरेको खण्डमा, आगामी दिन उनका लागि अझै सहज हुनेछ ।
प्रतिक्रिया