‘केजीएफ ३’ आएपनि हट्दिन भन्ने ‘परदेशी २’का निर्माता किन पछि हटे ?
फिल्म ‘परदेशी’ले बनाएको उचाई र चर्चा ‘परदेशी २’ले पाइरहेको थिएन । गायक प्रकाश सपुत र नायिका केकी अधिकारी फिचरिङ गीत ‘के बर मागी’ले पनि आशातित चर्चा पाएन ।
टिजर भनेर सार्वजनिक गरिएको ट्रेलरबाट पनि उम्दा प्रतिक्रिया आएन । म्यूजिक भिडियोमा हरेक साता देखिने प्रकाश सपुतले फिल्मलाई जुरुक्कै उठाउन सक्ने त संभावना पनि थिएन । फेरि, यसपटक खाडी मुलुक छाडेर अमेरिकाको कथा समातेका थिए, निर्देशक नारायण रायमाझीले ।
सबै कुरा देखेपछि दशैंमा नै फिल्म रिलिज गर्न गाह्रो छ भन्ने वुझेर यो फिल्मका निर्माता राजेश वंशलले फागुण ५ मा फिल्म पुर्याए । तर, यो मितिमा उनलाई सहज भने छैन । किनकी, फागुण ५ मा फिल्म ‘बिहे पास’ रिलिज हुने पक्का जस्तै छ । केही दिनमै फिल्मको टिजरसहित मिति सार्वजनिक हुँदैछ ।
राजेश वंशल केही दिन अगाडिसम्म फिल्म ‘केजीएफ ३’ आएपनि ‘परदेशी २’लाई असोज १४ बाट नसार्ने अडान लिन्थे । तर, उनको अडान लामो समय टिकेन ।
एकातिर, ‘प्रेमगीत ३’को हाइप, अर्कोतिर कार्तिक ४ को ‘दुई नम्बरी’ असोज २१ मा सर्नु । हिन्दी फिल्म ‘विक्रम वेधा’ पनि असोज १४ मा आउने चर्चा हुनु । यी कारणले राजेश वंशलको ‘केजीएफ ३’ आएपनि सर्दिनँ भन्ने अडान लामो समय टिकेन ।
प्रतिक्रिया