अपरिपक्क विचारले खस्कदैछ करिश्माको क्रेज

सेलिब्रिटी भैसकेपछि आफ्नो विचार व्यक्त गर्दा कुन हदसम्म सोच्नुपर्छ भन्ने नेपालका कमै मात्र कलाकारलाई थाहा छ । सामाजिक संजालमा उनीहरुले लेख्ने कुराले कुन हदसम्मको प्रभाव पार्छ र त्यसले उनको करिअरलाई समेत कती असर गर्छ भन्ने वुझ्न पनि आवश्यक छ ।

नेपाली फिल्म क्षेत्रकी सुन्दरी नायिका करिश्मा मानन्धर भने सामाजिक संजालमा व्यक्त गर्ने अपरिपक्क विचारले आफ्नो उचाई खस्काइरहेकी छिन् ।

अमेरिकाबाट फर्किएपछि ठूलो पर्दामा उनले आफ्नो क्रेज बनाउन नसकेको कुरा प्रष्ट हो । तर, उनको दुई दशक अगाडिका फिल्म, उनको सुन्दरताले आज पनि उनलाई करिश्मा बनाइराखेको छ । तर, राजनीतिमा आएको विचलन, सामाजिक संजालमा व्यक्त गर्ने अपरिपक्क र विवादित बयानका कारण उनले आफ्नो क्रेज खस्काइरहेकी छिन् ।

उनले केही महिना अगाडि निहारिकाको बिषयमा सामाजिक संजालमा स्टाटस लेख्दै उनलाई सहयोग गर्ने आशय व्यक्त गरिन् । यसको कतिपयले प्रशंसा गरे भने कतिपयले आलोचना । तर, २ दिन अगाडि मात्र उनले निहारिकाको बिषयमा नयाँ कुरा लेखिन् । जहाँ, निहारिकाका व्यक्तिगत तस्वीर समेत सार्वजनिक गरिदिइन् ।

उनले, निहारिकाको मुद्दामा आफूले स्वरुप नै थाहा नपाई सहयोग गर्न अगाडि सरेकोमा सबैसँग माफी समेत मागिन् । साथै, उनले अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लूगा बाहेक रुपैयाँको सहयोग नगर्ने समेत उल्लेख गरिन् । उनले, निहारिकालाई आमा, बुबासँग माफी माग्न समेत आग्रह गरिन् ।

यो स्टाटसलाई अधिकांशले करिश्माको अपरिपक्कताको रुपमा हेरे । त्यसपछि, उनले फेरि आफ्नो ध्यानाकर्षण भएको भन्दै यो बिषयमा दूधको दूध र पानीको पानी होस् भन्दै आफूहरु एटीएम कार्ड नभएको उल्लेख गरिन् ।

करिश्माको अपरिपक्कता यसपटक मात्र देखिएको होइन । उनले राजनीतिक बिषयमा लेख्ने विचार र दर्शकका प्रतिक्रियामा जवाफ फर्काउँदै लेख्ने विचारले पनि उनी कुन बाटोमा हिडिरहेकी छिन् भन्ने सोच्न वाध्य गराउँछ । करिश्मा जस्तो एउटा तहमा पुगेकी सेलिब्रिटीले विचार व्यक्त गर्दा सय पटक सोच्नुपर्ने हो । तर, करिश्मा हतारमा स्टाटस लेख्दै फुर्सदमा पछुताउने गर्छिन् ।