गल्ती गर्दैछन् ‘माइकल अधिकारी र राधा’का निर्माता

बलिउडका ठूला फिल्मले समेत हावा खाइरहेको समयमा आउँदो सातादेखि नेपाली फिल्म हरेक साता नयाँ नयाँ रिलिज हुँदैछन् । दर्शकले कुन फिल्म हेर्लान् र निर्माताको पल्ला भारी हुन्छ भन्न सकिने अवस्था छैन । तर, उस्तै देखिने कथामा एउटै कलाकारको फिल्म एक साताको अन्तरमा रिलिज हुँदा दर्शक कन्फ्यूज हुने पक्का छ ।

भदौको ३ गते नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ रिलिज हुँदैछ । यो फिल्ममा श्रृष्टीले कोख भाडामा लिएर बच्चा जन्माउने महिलाको भूमिकामा काम गरेकी छिन् ।

यसको एक सातापछि, श्रृष्टीकै मुख्य भूमिका रहेको फिल्म ‘राधा’ रिलिज हुँदैछ । यो फिल्ममा भने श्रृष्टी श्रीमान्लाई पर्खिरहेकी एक गर्भवती महिलाको भूमिकामा छिन् । उस्तै, प्रकृतिको कथा र एउटै कलाकार भएको नाताले पनि यी दुई फिल्मलाई लिएर दर्शक पुरै कन्फ्यूज देखिएका छन् ।

मेकरले दर्शकलाई यसरी कन्फ्यूजमा राख्नु राम्रो होइन । कम्तीमा पनि एउटा फिल्मको प्रचार भैरहेको समयमा अर्को फिल्मको प्रचार सामाग्री नदेखिएको भए राम्रो हुन्थ्यो । तर, दुबै फिल्म एक साताको अन्तरमा रिलिज हुने भएकाले पनि त्यो संभव भएन । सायद, फिल्म चलेपछि मात्र मेकरले यस बिषयमा वुझ्ने हुन् कि ?