पशुपति क्षेत्रमा ‘कृष्णलीला’ टिमद्वारा निःशुल्क पानी वितरण

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण लीला’का कलाकारहरूले साउने सोमबारको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी तथा फलफुल वितरण गरेका छन् ।

पशुपतिनाथको दर्शनमा आएका भक्तजनहरुको सेवा र सुविधाका लागि फिल्म ‘कृष्ण लीला’को टिमले उक्त कार्यक्रम आयोजना गरेको थियो । आज साउनको चौथो सोमबार भएकाले पशुपति क्षेत्रमा दर्शनार्थीको निकै भिड हुने गर्दछ ।

भदौ ३ गते प्रदर्शन मिति नजिकैजाँदा फिल्मका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री निर्देशक दीपक ओली लगायतले पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका हुन् ।

फिल्ममा पुष्प खड्का,श्रद्धा क्षेत्रीका अलवा बुद्धि तामाङ ,रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईँ, आयुषा क्षेत्री, पीताम्बर आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई दिपक ओलीले निर्देशन गरेका छन् भने निर्माता रोहित कट्टलको प्रस्तुति रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा नायक पुष्प खड्का भने, ‘दर्शकको माया र साथले हामी बाँच्ने हो त्यसैले आज यो पावनभूमिमा दर्शक तथा भक्तजनहरुसँग फिल्मको बारेमा सहभागिता जनाउन पाएकोमा एकदमै खुसी लागेको बताएका छन् ।’

यस्तै, नायिका श्रद्धा क्षेत्रीले फिल्मको गीत संगीत र ट्रेलरलाई दर्शकहरु मनपराएको र फिल्मलाई अझै दर्शकहरुले मनपराई दिनेमा आशावादी रहेको बताउँछिन् । निर्देशक दिपक ओली पनि फिल्मको टिमसँग सामाजिक कार्यहरुमा जोडिन पाउँदा खुसी लागेको बताए ।

प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सह निर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको वितरक पनि आरआर फिल्मस नै हो । फिल्मको डिजिटल राइट्स डिएआर मुभिजले लिएको छ।