‘लाखे’को पीडाः छाडेर जाउ कुन ठाउँ जाउ, फिल्म नजुध्ने मिति हुँदैन

सम्राट बस्नेतको निर्देशनमा बनेको मल्टिस्टारर फिल्म ‘लाखे’को प्रदर्शन मिति भदौ ३१ बाट हेरफेर भयो । भदौ ३१ मा प्राविधिक काम नसकिएको भन्दे फिल्मलाई निर्माणपक्षले कार्तिक ११ मा सार्यो । फिल्म सर्दासम्म यो मिति खाली नै थियो । भाइटिकाको भोलीपल्ट छठ पर्वलाई लक्षित गरेर मल्टिस्टारर फिल्मको प्रदर्शन मिति सारियो ।

तर, यो फिल्मको प्रदर्शन मिति सरेको समाचार सार्वजनिक भएको केही मिनेटमै निर्देशक प्रदीप भट्टराइले आफू निर्देशित फिल्म ‘महापुरुष’को प्रदर्शन मिति तोकिदिए ।

‘महापुरुष’ पनि कार्तिक ११ मै आउने भएपछि ‘लाखे’को टिमलाई समस्या पर्ने निश्चित छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य जस्ता कलाकारलाई लिएर प्रदीपले फिल्म बनाएकाले पनि दर्शकको आकर्षण यो फिल्ममा हुने निश्चित छ ।

‘लाखे’को टिमले कार्तिक ११ मा ‘महापुरुष’ आउँछ भनेर हतारमा मिति तोेकेको हो या थाहा नपाई, यो उनीहरुले नै जान्ने कुरा भयो । तर, सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, प्शान्त ताम्राकार अभिनित यो फिल्मलाई तनाव त हुने नै भयो ।

भदौ ३१ मा पनि ‘लाखे’ ‘बाबरी’सँग भिड्दै थियो । यो भिडन्त टरेपनि अर्को ठूलो भिडन्तको मारमा फिल्म परेको छ । आखिर लाखेका लागि त ‘छाडेर जाउ कुन ठाउँ जाउ, फिल्म नजुध्ने मिति हुँदैन’ भने जस्तै भएको छ ।