पुष्प र श्रद्धाको जोडीले चर्चा पाएपछि फिल्मको अफर
नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीले अभिनय गरेको फिल्म ‘कृष्णलीला’ भदौको ३ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा काम गरेपछि पुष्प र श्रद्धाको जोडीले समेत चर्चा पाउन थालेको छ । बजारमा त पुष्प र श्रद्धा एक अर्काको प्रेममा रहेको गसिप समेत सार्वजनिक हुन थालेको छ । तर, पुष्प र श्रद्धाले प्रेम भन्दा पनि राम्रो साथी भएको जिकिर गर्दै आएका छन् ।
फिल्ममा समावेश ‘म निदाउँदा तिम्रो हात’ र ‘ए मेरो हजुर’ बोलको गीत सुपरहिट छ । फिल्मको ट्रेलरलाई समेत दर्शकले रुचाएका छन् ।
फिल्मले राम्रै चर्चा पाइरहँदा पुष्प र श्रद्धाको जोडीलाई लिएर फिल्म बनाउन केही निर्माताले चाहेका छन् । पुष्पले भने–‘हो, हामीलाई एकसाथ लिएर फिल्म बनाउन केही निर्माताले अफर गर्नुभएको छ । तर, कृष्णलीला नै यतिबेला हाम्रो मुख्य प्राथमिकतामा छ । यो फिल्म चलेपछि मात्र अरु निर्णय गर्छौ ।’
श्रद्धाले पनि पुष्पसँग फिल्म नचल्दै दर्शकले जोडी मन पराइदिनुभएको भन्दै खुशी व्यक्त गरिन् । उनले, यो फिल्म चलेपछि आफूहरुले एकसाथ काम गर्ने पनि बताइन् । दीपक वलीको निर्देशनमा तयार भएको यो फिल्मले कृष्ण र लीलाको फरक प्रेमकथालाई प्रस्तुत गरेको छ ।
प्रतिक्रिया