‘लाल सिंह चड्डा’माथि नेपाली वितरकको २ करोडको जोखिम

साउनको २७ गतेबाट बलिउड फिल्म ‘लाल सिंह चड्डा’ रिलिज हुँदैछ । यो फिल्मलाई आमिर खानले निर्माण गरेका हुन् । आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलरले अपेक्षित प्रतिक्रिया पाएको छैन । फिल्मको प्रचार पनि आमिरले सुस्त गरिरहेका छन् ।

हुनत, आमिरका फिल्महरु वर्ड अफ माउथबाट बढी चल्ने गरेका छन् । यसैले, पनि उनी फिल्मको प्रचार खासै गर्दैनन् ।

यो फिल्मका लागि नेपाली वितरकले पनि महंगो रकम तिरेका छन् । फिल्मका लागि नेपाली वितरकले २ करोड रुपैयाँ खर्च गरेका छन् । मनोज राठी र उज्ज्वल पौडेलको टिमले आमिरको स्टारडम र कथामाथि २ करोड लगानी गरेको हो । नेपाली वितरकले यो लगानी उठाउनका लागि ६ करोड हारहारीको व्यापार गर्नुपर्छ ।

‘केजीएफ २’बाट राम्रै कमाई गरेका मनोज र उनको टिमले ‘शम्शेरा, सम्राट पृथ्वीराज’ लगायत फिल्मबाट पनि राम्रै रकम डुबाएको छ । यसअर्थमा, उनीहरुका लागि आमिरको फिल्म जोखिमपूर्ण छ । किनकी, फिल्मको वर्ड अफ माउथ राम्रो भएको खण्डमा लगानी सुरक्षित हुने संभावना छ ।

तर, ‘ठग्स अफ हिन्दुस्तान’ भएको खण्डमा नेपाली वितरक ठूलै घाटामा पर्ने निश्चित छ ।