आमिर खानको फिल्म रिलिजअघि नै बहिष्कारमा पर्‍यो

बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित फिल्म लाल सिंह चड्ढा रिलिज हुनु अघि नै बहिष्कारमा परेको छ ।

फिल्म ‘लाल सिंह चड्ढा’ अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । रिलिज हुनु अघि सामाजिक सञ्जालमा फिल्म बहिष्कार गर्न माग भइरहेको छ । जसका कारण ‘लाल सिंह चड्डा’ र आमिर खानका निर्माता चिन्तित छन् ।

रिलिज हुनुअघि नै सामाजिक सञ्जालमा प्रयोगकर्ताले फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । अहिले ब्यइकटलालसिंहचड्ढा पनि ट्विटरमा लगातार ट्रेन्डिङमा छ । आमिरले फिल्ममा हिन्दू संस्कृतिको अपमान गरेको प्रयोगकर्ताहरूले आरोप लगाएका छन् ।

अभिनेताले हालैका दिनमा सबैलाई आफ्नो फिल्म बहिष्कार नगर्न आग्रह गरेका थिए, साथै उनले आफ्नो दृष्टिकोण पनि मानिसहरूका अगाडि राख्ने प्रयास गरे। तर, यी सबै प्रयासका बाबजुद पनि ट्वीटरमा ‘बाइकट लाल सिंह चड्डा’ रोकिएको छैन । यस्तो अवस्थामा आमिर र निर्माता चिन्तित बन्नु परेको छ ।

भर्खरै, मिडियाले आमिरलाई सोशल मिडियामा चलिरहेको ‘बाइकट लाल सिंह चड्डा’को बारेमा प्रश्न गर्दा, अभिनेता खानले भने, ”बलिउड बहिष्कार, आमिर खानको बहिष्कार, लाल सिंह चड्ढाको बहिष्कार, मलाई पनि दुःख लाग्छ। किनभने उनीहरूलाई लाग्छ कि म भारतलाई मन नपराउनेहरूको सूचीमा छु र यो बिल्कुल असत्य छ। म देशलाई साँच्चै माया गर्छु, म यस्तै छु। कतिपयले यस्तो सोच्ने हो भने दुर्भाग्य हो । म सबैलाई आश्वस्त पार्न चाहन्छु कि म त्यो त्यस्तो होइन र छैन । त्यसैले कृपया मेरो फिल्म बहिष्कार नगर्नुहोस्, कृपया मेरो फिल्महरू हेर्नुहोस्।” उनले भनेका छन् ।

वास्तवमा सन् २०१५ मा आमिर खान एक कथित टिप्पणीका कारण चर्चामा आएका थिए । ूहाम्रो देश धेरै सहिष्णु छ, तर त्यहाँ केहि व्यक्तिहरू छन् जसले अराजकता फैलाइरहेका छन्,ू उनले भने। यति मात्र होइन, आमिर खानकी पूर्वपत्नी तथा फिल्ममेकर किरण रावले आफ्ना सन्तानको सुरक्षाका लागि देश छाड्ने सोचमा रहेको बताइन् । यो पुरानो भनाइका कारण नेटिजन्सले उनलाई हिन्दू विरोधी र भारत विरोधी भनेका छन् ।

तर कुनै पनि फिल्म रिलिजअघि बहिष्कारमा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि शाहरुख खान, रणवीर सिंह जस्ता सेलिब्रेटीको फिल्म सामाजिक सञ्जालमा बहिष्कार भइसकेको छ । तर, यसपछि पनि ती फिल्महरू बक्स अफिसमा हिट साबित भएका छन् ।