अधिकांश निर्माता फिल्म चल्नुअघि नै फाइदामा ?

२ दिन अगाडि आयोजना भएको फिल्म ‘परदेशी २’को गीत रिलिज कार्यक्रममा यसको मेकरले रिलिज अगावै फिल्मले लगानी उठाएको बतायो । विशेषगरि, फिल्मको विदेश राइट्स बेचेर लगानी उठिसकेको मेकरको भनाई थियो । हुनत, यस्तो भनाई हिजोआज यो फिल्मको निर्माताको मुखबाट मात्र सुनिने होइन ।

अधिकांश फिल्मका निर्माताले फिल्म चल्नु अगाडि नै विदेशमा बेचेर लगानी उठाएको तर्क गर्न थालेका छन् । फिल्म ‘प्रकाश’का निर्माताको तर्क पनि यस्तै थियो । उनका अनुसार, अब नेपालबाट पाउने शेयर नाफामा परिणत हुनेछ ।

चलिसकेका केही फिल्म र चल्न बाँकी केही फिल्मका निर्माताको तर्क सुन्ने हो भने, नेपाली फिल्म बनाएर घाटा कतै पनि छैन भन्ने प्रष्ट वुझिन्छ ।

किनकी, ‘कबड्डी ४’ले विदेशबाटै बम्पर कमाई गरेको खबर सार्वजनिक भैसकेको छ । रिलिजका लागि तयार भएको फिल्म ‘प्रेमगीत ३’का निर्माताले पनि भारत र अन्य देशमा बेचेर फिल्मको लगानी सुरक्षित गरिसकेको तर्क गरिरहेका छन् ।

फिल्म ‘२ नम्बरी’का निर्माताले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, बेलायत, मलेसिया, कतार, साउदी अरब लगायतका देशमा बेचेर करिब १ करोड कमाइसकेको मिडियामा रिपोर्ट दिइसकेका छन् ।

काठमाडौंमा आयोजना हुने अधिकांश फिल्मका कार्यक्रममा फिल्म नचल्दै लगानी उठिसकेको भन्ने वाक्य सामान्य भैसकेको छ ।

बिदेशमा फिल्म बेचेर निर्माताले करोड बढी कमाउन थालिसकेको र फिल्मको लगानी सुरक्षित भएको बताइरहँदा के साच्चिकै नेपाली फिल्म बनाएर घाटा नहुने हो त भन्ने प्रश्न उब्जिन थालेको छ । अधिकांश निर्माताले लगानी सुरक्षित गरिसकेको दाबी गरिरहँदा नेपाली फिल्म बनाउन सहज हुन थालेको देखिन्छ ।

तर, के निर्माताले बताए जस्तै नेपालमा नचल्दै फिल्मको लगानी सुरक्षित हुन थालेको हो त ?