मुम्बईमा ‘प्रेमगीत’को पत्रकार सम्मेलन, प्रदीपले भने–‘नेपाल–भारतको हृदय पनि खुल्ला छ’
नेपाली फिल्मका कलाकारले भारतीय मिडियाको अगाडि उभिएर अन्तरवार्ता दिएकै खासै देखिदैन । अझ, भारतमा नेपाली फिल्म रिलिज हुँदैछ भन्ने जानकारी दिनका लागि कलाकारहरुले भारतीय मिडियासँग प्रचार गरेको पनि देखिदैन । तर, नायक प्रदीप खड्का, निर्माता तथा निर्देशक सन्तोष सेन र नायिका कृष्टिना गुरुङले मंगलबार भारतीय मिडियाका अगाडि उभिएर फिल्म र दुई देशको सम्बन्ध बारे बोले ।
प्रदीपले भने–‘नेपाल र भारतविच सिमाना मात्र खुल्ला छैन । हामी एक अर्कालाई दिल खोलेर स्वागत समेत गर्छौ । आशा छ, हामीले यस्तै माया भारतमा पाउनेछौं ।’
यस्तै, पत्रकार सम्मेलनमा फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले भारतीय मिडियाबाट साथ र सहयोग पाएको भन्दै खुशी व्यक्त गरे । उनले, फिल्मको माध्यमबाट नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ हुनेमा विश्वास व्यक्त गरे ।
मुम्बईका विभिन्न होडिङबोर्डमा फिल्मको पोष्टर लागेको छ । नेपाली फिल्मले भारतीय बजारमा कस्तो व्यापार गर्छ, त्यो भोलीको कुरा भयो । तर, सन्तोष सेन निर्देशित यो फिल्मले नेपाली फिल्म क्षेत्रलाई फेरि चलायमान भने बनाइदिएको छ । पत्रकार सम्मेलनमा नायिका कृष्टिना गुरुङले आफूले यो तहसम्म फिल्मले स्थान पाउँछ भनेर कल्पना पनि नगरेको बताइन् । यो फिल्म नेपाल र भारतमा असोज ७ गतेबाट रिलिज हुँदैछ ।
प्रतिक्रिया