प्रदीपको ‘प्रकाश’बाट ‘दोश्रो जन्म’ कि ‘प्रेमगीत ३’ बाट ‘नयाँ जन्म’ ?
नायक प्रदीप खड्काले करिब आधा दर्जन फिल्ममा अभिनय गरेपछि, बल्ल आफ्नो नयाँ जन्म भएको तर्क गर्न थालेका छन् । केही दिन अगाडि आयोजना भएको फिल्म ‘प्रकाश’को कार्यक्रममा नायक प्रदीप खड्काले यो फिल्म आफ्ना लागि ‘दोश्रो जन्म’ भएको बताए । फिल्म क्षेत्रमा आएर स्टार भैसकेपछि प्रदीपले ‘प्रकाश’बाट दोश्रो जन्म भन्नुको अर्थ थियो, उनी यो फिल्मबाट नयाँ केही गर्दैछन् । पक्कै पनि भदौको १० गतेबाट रिलिज हुन लागेको फिल्मको प्रचारमा दौडधुप गरिरहेका प्रदीपले पहिलो पटक आफ्नो चकलेटी अनुहार विर्सिएर एउटा कलाकारको रुपमा काम गरेका छन् । जहाँ, उनको अनुहार होइन अभिनय हाबी छ । यसअर्थमा पनि उनले यो फिल्मलाई आफ्नो ‘दोश्रो जन्म’ भनेका हुन् ।
उनै, प्रदीपले भारतमा समेत फिल्म ‘प्रेमगीत ३’ लाग्ने भएपछि आज भारतीय मिडियासँग प्रतिक्रिया दिदै आफ्नो ‘नयाँ जन्म’ भनेका छन् । किनकी, भारतीय बजारमा नेपाली फिल्मले यो तहमा स्थान यसअगाडि पाएको थिएन । हिन्दी भाषामा फिल्म डबिङ गरेर रिलिज हुँदैछ । यसअर्थमा, प्रदीपले ‘नयाँ जन्म’ भनेका हुनसक्छन् ।
तर, एउटामा फरक भूमिका गरेकाले ‘दोश्रो जन्म’ भनेका प्रदीपले अर्को फिल्म भारतमा लाग्ने भएको र हिन्दी भाषमा समेत रिलिज हुने भएकाले ‘नयाँ जन्म’ भनेका छन् ।
प्रदीप यतिबेला फिल्म प्रचारको दोधारमा छन् । एकातिर निर्माता तथा निर्देशक सन्तोष सेन ‘प्रेमगीत ३’को आक्रामक प्रचार गरिरहेका छन् । अर्कोतिर, निर्देशक दिनेश राउत र उनको टिमले पनि ‘प्रकाश’को आक्रामक प्रचारलाई अगाडि बढाइरहेको छ । दुबै फिल्मको केन्द्रमा छन् प्रदीप खड्का ।
जसकाकारण, प्रदीपलाई फिल्मको बारेमा बोल्दा नै समस्या भैरहेको छ । ‘प्रेमगीत ३’ले अन्तरराष्ट्रिय बजारमा पाइरहेको सफलता एकातिर छ भने अर्कोतिर जीवनमा पहिलो पटक कलाकार बन्ने प्रयास गरेको फिल्म ‘प्रकाश’ रिलिज हुँदैछ । एक महिना अगाडि ‘प्रकाश’बाट ‘दोश्रो जन्म’ लिइसकेका प्रदीपले त्यसको एक महिनापछि ‘प्रेमगीत ३’बाट ‘नयाँ जन्म’ कसरी लिन सक्लान् खै ?
खैर जे भएपनि प्रदीपलाई दुबै फिल्मका लागि सफलताको शुभकामना ।
प्रतिक्रिया