प्रियंकापछि केकी झुटो प्रचारको शिकार
केही समय अगाडि नायिका प्रियंका कार्कीको तस्वीर राख्दै चाडै नै दुब्लाउने भन्दै एउटा प्रोडक्टको विज्ञापन फेसबुकमा छ्याप्तछ्याप्ती भयो । प्रियंकाले पनि उक्त प्रोडक्ट नै सेवन गरेकाले चाडै नै दुब्लाउन सकेको भन्दै प्रचार गरियो । पछि, प्रियंका आफैले सामाजिक संजालबाट आफूले यस्तो खालको प्रचार नगरेको र आफूले यस्तो प्रोडक्टको सेवन पनि नगरेको भन्दै स्पष्टिकरण दिनुपर्यो ।
अहिले अर्की नायिका केकी अधिकारी यस्तै झुटो प्रचारको शिकार बनेकी छिन् । केकीको पनि मोटाउँदा र दुब्लाउँदाका तस्वीर राख्दै झुटो प्रचार गरिएको छ । केकीले सामाजिक संजालमा यसबारेमा सचेत गराउँदै लेखेकी छिन्–‘मेरो नाम र तस्वीरहरुको चरम दुरुपयोग गरि यस्ता भ्रामक विज्ञापनमा प्रयोग गरिएको पाइएकोमा यसमा कुनै सत्यता नभएको र यसमा विश्वास नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।’
केकीको तस्वीर प्रयोग गर्दै उनले यस्ता प्रोडक्ट सेवन गरेर शरीरको तौल घटाएको र आश्चर्यजनक रुपमा परिवर्तन आएको उल्लेख गरिएको छ । केकीले यस्ता झुटा प्रचारको पछि नलाग्न सबैलाई अनुरोध गरेकी छिन् ।
प्रतिक्रिया