कर छलीको आरोपमा स्पेनमा शकिरालाई ८ वर्षको जेल सजायको माग

ग्लोबल म्युजिक सुपरस्टार शकिरा यतिबेला फेरि चर्चामा छिन् तर सबै गलत कारणले। शकिरा कर छली अभियोगको सामना गरिरहेकी छन् ।

स्पेनिश अभियोजकहरूका अनुसार ४५ वर्षीया गायकलाई आठ वर्ष भन्दा बढी जेल सजाय हुन सक्छ। उनले कर छलीको आरोपमा निवेदन सम्झौता अस्वीकार गरेपछि यो विकास भएको हो। अभियोजनकर्ताले यस मुद्दामा उनीमाथि आठ वर्षको जेल सजाय र ३४ मिलियन युरो क्षतिपूर्तिको माग दाबी गरेका छन् ।

सन् २०१२ देखि २०१४ सम्म शकिराले १४.५ मिलियन कर छली गरेको आरोप सहितको मुद्दा अहिले अदालतमा पुगेको छ । शकिराले भनेकी छन्, उनी आफ्नो निर्दोषतामा पूर्ण रूपमा निश्चित छिन् र उनले मुद्दालाई अदालतमा जान दिने निर्णय गरेकी छिन्, उनका वकिलहरू मार्फत एक बयान अनुसार उनले बुधवार एक निवेदन सम्झौता अस्वीकार गरेकी हुन्।

सन् २०१८ मै उनलाई कर छलीको अभियोग लगाइएको थियो । सन् २०१२ देखि २०१४ मा स्पेन बसेकी उनले आफ्नो निजी निवासलाई कतै स्थानान्तरणको प्रयास गरेकी थिइन् ।

स्पेनमा ६ वर्षभन्दा बढी समय बिताउने बासिन्दालाई कर प्रयोजनका लागि योग्य मानिने कानुन छ । तर उक्त समयमा आफू स्पेनमा त्यति धेरै समय बसोबास नगरेको शकिरा दाबी गर्छिन् ।

अभियोजनकर्तालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेअनुसार सन् २०१२ मा शकिराले बार्सिलोनामा घर किनेकी थिइन्, जुन उनी र उनका तत्कालीन पार्टनर तथा बार्सिलोनाका फुटबल स्टार जेरार्ड पिकेको पारिवारिक घर बन्यो ।

तर शकिरा र पिकेले सम्बन्ध विच्छेद गरिसकेका छन् । यद्यपि, यो मुद्दामा पिके पनि तानिने अनुमान गरिएको छ ।