पुष्पको करिअरलाई फिल्मी गीतको साथ
नायक पुष्प खड्काले कडा मिहिनेतका साथ आफूलाई बलियो स्थानमा उभ्याएका छन् । उनले अभिनय गरेको पहिलो फिल्म ‘अझै पनि’ होस् या त्यसपछि रिलिज भएका केही फिल्म नै किन नहोस्, उनको अभिनयले सर्वत्र चर्चा पायो । यसैले, त उनले फिल्म ‘मङ्गलम’बाट राष्ट्रिय चलचित्र पुरस्कार नै जिते ।
उनै, पुष्पले अभिनय गरेको फिल्म ‘कृष्णलीला’ भदौको ३ गतेबाट रिलिज हुँदैछ । यो फिल्मबाट पनि दर्शकको राम्रो प्रतिक्रिया पाउनेमा उनी विश्वस्त छन् । फिल्म क्षेत्रमा आफूलाई शुन्य तहबाट स्टारको तहसम्म ल्याउँदा पनि पुष्प आफूमा कुनै पनि घमण्ड नभएको बताउँछन् । उनको यो शैलीलाई पनि दर्शकले मन पराएका छन् ।
फिल्म क्षेत्रमा सफल हुनुमा पुष्पलाई गीतसंगीतले पनि खुबै साथ दिएका छन् । उनले अभिनय गरेको फिल्म ‘मङ्गलम’को ‘पर्ख पर्ख मायालु’ बोलको गीतले खुबै चर्चा पायो । आज पनि पुष्पलाई चिनाउन यो गीतले ठूलो मद्दत गरेको छ । साथमा, यो फिल्ममा उनले गरेको अभिनयको पनि सर्वत्र तारिफ भएको थियो ।
पुष्पलाई फिल्म ‘मारुनी’को गीतले पनि साथ दियो । ‘जाम न माया जाम’ बोलको गीतले चर्चा पाउँदा त्यसको फाइदा पुष्पले लिए । फिल्म ‘कृष्णलीला’को दुबै गीतले पुष्पलाई खुबै फाइदा दिएको छ । ‘म निदाउँदा तिम्रो हात’ बोलको गीत सुपरहिट भैसकेको छ । अहिले फेरि यही फिल्ममा समावेश ‘ए मेरो हजुर’ बोलको गीतले पुष्पलाई चर्चामा ल्यादिएको छ । ४ लाख भन्दा बढी टिकटकट बनेको यो गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने अपेक्षा गर्न सकिन्छ ।
पुष्प पनि आफ्नो करिअरमा गीतसंगीतको भूमिका उच्च भएको बताउँछन् । गीतसंगीतका मामालामा आफू लक्की भएको उनको कथन छ ।
भदौ ३ गते रिलिज हुने फिल्म ‘कृष्णलीला’मा पुष्पले सानो उमेरको बच्चा जस्तो व्यवहार गर्ने एक यूवकको भूमिकामा काम गरेका छन् । यो भूमिकाले उनलाई नयाँ स्थानमा लैजाने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया