गीतसंगीतले दर्शक ताने चल्छन् यी फिल्म
केही बर्ष अगाडिसम्म गीतले फिल्म चलाउन ठूलो मद्दत गर्छ भनिन्थ्यो । यसैले, मेकरहरु गीतलाई उत्कृष्ट बनाउन लागिपर्थे । हुनत, अहिले पनि गीतसंगीतको शक्ति कमजोर बनेको छैन । गीतलाई राम्रो बनाएर भिडियो पनि उत्कृष्ट तरिकाले खिच्न केही निर्माताले कञ्जुस्याँई गरेका छैनन् ।
गीत हिट भएकै कारण ‘म यस्तो गीत गाउँछु २, ए मेरो हजुर ४, कबड्डी ४’ लगायतका फिल्मलाई खुबै फाइदा भयो । अब, रिलिज हुन लागेका केही फिल्मका गीतसंगीत पनि अहिले नै चर्चामा छन् । जसले, फिल्मको व्यापारमा फाइदा पुग्न सक्छ ।
भदौको ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कृष्णलीला’को ‘म निदाउँदा तिम्रो हात र ए मेरो हजुर’ सुपरहिट भएका छन् । यी दुबै गीतलाई सामाजिक संजाल टिकटकमा पनि खुबै रुचाइएको छ । दिपक वली निर्देशित यो फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका छ । यी दुबै गीतको शक्ति फिल्मको इनिसियल व्यापारमा कती पर्छ, भदौ ३ गते थाहा हुनेछ ।
गीतसंगीतका कारण चर्चामा रहेको फिल्म हो ‘सम्हालिन्छ कहिले मन’ । यो फिल्मको ‘जरुरी कुरा छ’ सुपरहिट भैसकेको छ । पूजा शर्मा, सोनम तोप्देन र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
फिल्म ‘झिँगे दाउ’मा समावेश ‘आगो विना विँडी जल्दैन’ पनि सुपरहिट भैसकेको छ । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा आँचल शर्मा, केकी अधिकारी, मुकुन भुषाल, कुशल बिष्ट लगायतको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन र झिँगे दाउ’ भदौको १७ गतेबाट रिलिज हुँदैछन् ।
भदौको ३१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाबरी’को शिर्ष गीत पनि सुपरहिट छ । सुरेन्द्र पौडेल निर्देशित यो फिल्ममा धिरज मगर, अदिती वुढाथोकी लगायतका कलाकारको अभिनय छ ।
यी चार फिल्मको गीत सर्वाधिक चर्चामा छ । साथमा भदौको १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘राधा’को तीज गीतले पनि दर्शकको ध्यान खिचिरहेको छ । फिल्मलाई गीतसंगीतले व्यापारमा मद्दत गर्ने कुरामा त २ मत रहेन । अब, यी चार फिल्मको व्यापारले गीतको शक्ति टिकटकमा मात्र हो कि हलमा पनि हो भन्ने अझै पुष्टी हुनेछ ।
प्रतिक्रिया