‘छक्का पन्जा ४’को हाउगुजीमा असोजदेखि कार्तिकसम्मका फिल्म

एउटा कुरा पक्का के छ भने, ‘छक्का पन्जा ४’ले नेपाली बक्स अफिसमा लोभलाग्दो व्यापार गर्छ । अघिल्ला ३ सिरिजले बनाएका रेकर्डहरुलाई तोड्दै नयाँ रेकर्ड बनाउने चुनौती यो फिल्ममाथि छ । दर्शकले ब्रान्ड बनाएका फिल्म र टिमलाई पत्याएका छन् । दीपकराज गिरीले ‘श्री माग्ने राजा’ नामलाई पछि धकेल्दै ‘छक्का पन्जा ४’ नाम राख्नुको मुख्यकारण नै, नामको ब्रान्ड हो । तर, यो फिल्मको प्रदर्शन मिति अहिलेसम्म तय गरिएको छैन । तर, बजारमा चर्चा चलेअनुसार फिल्मलाई असोजमा नै रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

असोजको २८ गतेलाई यो फिल्मका निर्माता र वितरकको ध्यान गएको छ । तर, यो मितिमा दीपकका गुरु सन्तोष पन्तले बनाएको फिल्म ‘हिजो आजका कुरा’ रिलिज हुँदैछ । जसलेगर्दा, दीपकले सन्तोषसँग भिड्ने सोच पक्कै राख्दैनन् ।
उसो भए के होला त ? बजारमा ‘हिजो आजका कुरा’लाई असोज २१ मा सार्न आग्रह गर्ने र ‘छक्का पन्जा ४’लाई असोज २८ मा ल्याउने तयारीमा निर्माता लागेको चर्चा पनि छ ।

तर, यो फिल्मले प्रदर्शन मिति तय नगर्दा यसको वरिपरी आउने फिल्मका निर्मातामा भने एक प्रकारको डर पक्कै छ ।

भदौदेखि कार्तिकसम्म रिलिज हुने फिल्मका निर्माताले दोश्रो सातामा हलमा आफ्नो फिल्म देख्न पाउँछन् या पाउँदैनन् भन्न सकिने अवस्था छैन । किनकी, फिल्मको चाप यति धेरै छ कि, उनीहरुले नचाहेर पनि हल छाड्नुपर्ने अवस्था छ ।
यसैले, असोज २८ मा ‘छक्का पन्जा ४’ आयो भने असोज १४ गते रिलिज हुन लागेको ‘परदेशी २’लाई पक्कै असर गर्नेछ । यस्तै, तिहारमा रिलिज हुन लागेका ३ नेपाली फिल्म ‘नालापानी, के घर के डेरा र २ नम्बरी’ पनि प्रभावित हुनेछन् । यसको असर, असोज ७ मा रिलिज हुने ‘प्रेमगीत ३’लाई सम्म केही हदसम्म पर्नेछ ।

‘छक्का पन्जा ४’को हाउगुजीमा निर्माता छन् । यसैले, यो फिल्मका निर्माताले प्रदर्शन मिति तय गरेर अन्य फिल्मका निर्माताको बेचैनीलाई अझै नबढाइदिए धेरै राम्रो हुने थियो ।