हेमराजलाई ‘सेरेमोनियल निर्देशक’ बन्ने चिन्ता छैन

दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरेको टिमले फिल्म ‘छक्का पन्जा ४’को छायांकन सुरु गरेको छ । सोमबारदेखि फिल्मको छायांकन काठमाडौंको विभिन्न स्थानमा भैरहेको छ ।

यो फिल्मलाई हेमराज वीसीले निर्देशन गर्दैछन् । यसअगाडिका ३ श्रृङ्खला निर्देशन गरेकी दीपाले चौथो पटक हेमराजलाई क्याप्टेनको जिम्मा दिएकी छिन् । दीपा यसपटक कलाकारको रुपमा फिल्ममा देखिदैछिन् ।

तर, दीपक–दीपाको फिल्म निर्देशन गर्दा निर्देशकको अधिकार कटौती हुन्छ भनिन्छ । यसअगाडि ‘छ माया छपक्कै’ निर्देशन गर्दा दीपेन्द्र लामामाथि पनि यस्तै प्रश्न उब्जिएको थियो । जुन प्रश्न अहिले हेमराज वीसीमाथि उब्जिनु स्वभाविक नै हो ।

तर, निर्देशक हेमराज वीसी आफूलाई यसको चिन्ता नहुने बताउँछन् । उनले भने–‘यदि, आफ्नो काम अरु कसैले गरिदिन्छ भने त आनन्दै भयो नी होइन । सेटमा आएर काम नै गर्नु परेन भने त बसी बसी कमाउन पाइन्छ । मलाई यसको चिन्ता छैन ।’

उनले, आफूलाई फिल्मको ब्रान्ड र व्यापारको चिन्ता भन्दा पनि दर्शकलाई कसरी उत्कृष्ट फिल्म दिने भन्ने चिन्ताले सताउने तर्क गरे ।