सबै तेलुगु फिल्मको छायांकन अगस्ट १ देखि रोक्ने घोषणा
तेलुगु फिल्म निर्माता संघले सबै फिल्मको छायांकन रोक्ने निर्णय गरेका छन्।
निर्माणको खर्च धान्न नसकेको भन्दै तेलुगु फिल्म निर्माता संघले तत्काल फिल्मको छायांकन रोक्ने घोषणा गरेका छन् । भारतको ठूलो मध्येको एक तेलुगू फिल्म उद्योगका निर्माताले अगस्ट १ अर्थात् साउन १६ गतेदेखि फिल्म छायांकन रोक्ने निर्णय गरेका हुन् ।
तेलुगु फिल्म निर्माता गिल्डले विज्ञप्ती जारी गर्दै समस्या समाधान नभएसम्म फिल्मको छायांकन रोक्ने जनाएको छ। गिल्डका सदस्यहरूले २६ जुलाईमा समस्याहरू समाधान नभएसम्म अगस्ट १ देखि फिल्महरूको छायांकन नगर्ने घोषणा गरेका छन्। पछिल्ला केही सातादेखि तेलुगु उद्योगका निर्माताहरू फिल्मको कमजोर प्रदर्शनको बारेमा चर्चा गरिरहेका छन्। तेलगु उद्योगको पुनसंरचना गर्न यो निर्णय गरिएको बताइएको छ ।
कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको हो । लागत खर्चबारे आफूहरुको मुख्य चासो रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
फिल्म बनाउने खर्च र कर बढेको छ। यस विषयमा निर्माताहरू बसेर छलफल गर्ने आवश्यक छ। आफ्नो फिल्म क्षेत्र र सिस्टम बलियो बनाउने हाम्रै जिम्मेवारी हो। यी सबै कुराको सुनिश्चित भएपछि मात्रै फिल्मको छायांकन सुरू हुनेछ। व्यवसायिक समाधान नभएसम्म फिल्मको छायांकन बन्द हुनेछ,’ विज्ञप्तीमा उल्लेख छ।
यस्तै, विज्ञप्तीमा फिल्म रिलिज गर्ने सुनिश्चित गर्नु हाम्रो दायित्व हो । यस सम्बन्धमा हाम्रा सबै सदस्यले अगस्ट १ देखि स्वेच्छिक रुपमा सबै छायांकन रोक्ने निर्णय गरेका छौं । जबसम्म हामीले व्यावहारिक उपाय फेला पार्दैनौं ।’ भनिएको छ । पछिल्लो १० दिनदेखि तेलुगु फिल्म उद्योगका निर्माताबीच अहिलेको अवस्थालाई लिएर कुराकानी चलिरहेको थियो । यस क्रममा धेरैले ओटीटीमा फिल्म रिलिज हुनेमा चिन्ता व्यक्त गरेका थिए । तेलुगु फिल्मका निर्माताले फिल्म हलमा रिलिज भएको १० हप्तापछि मात्र ओटिटी प्लेटफर्ममा रिलिज गर्ने निर्णय लिएका छन्।
कोरोना महामारीपछि ‘आरआरआर’ र ‘पुष्पा’ हिट भए, तर महामारीपछि फिल्मको टिकट दर बढेको कारण अन्य फिल्म हेर्न दर्शक नआएको निर्माताहरूको गुनासो छ। यो निर्णयपछि महेश बाबु, जुनियर एनटीआर र प्रभासजस्ता कलाकारको आगामी फिल्मले ढिलाइको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया