काम गर्ने भीम र खुश्वु, चर्चा पाउने आमेष र एन्जिला

नेपालीमा एउटा उखान छ नी, ‘काम गर्ने कालु, मकै खाने भालु’ । मंगलबार यस्तै भएछ । काठमाडौंमा आयोजना गरिएको गायक भीम बीसी र गायिका ममता हुमागाँइको स्वर, भीमकै शब्द तथा संगीतमा तयार भएको ‘सरमै भो’ बोलको गीत रिलिज कार्यक्रममा नायक तथा मोडल आमेष भण्डारी पुगे ।

उनको साथमा रुमर प्रेमिका एन्जिला रेग्मी पनि देखिइन् । दुबैजना भीमलाई साथ दिन गएका रहेछन् । तर, मिडियामा आमेष र एन्जिलाको प्रेमदेखि नीता ढुंगानाको बिहेका कारण भाइरल भएका यी नायकको मात्र कुरा आयो । कठै, भीम र यो गीतकी मोडल खुश्वु खड्काको नाम त कतै छैन ।

आमेषले नीताको बिहेमा भाइरल हुनुको कारण बताए । एन्जिला गीत गाएर खासै चर्चामा नआएपनि आमेषसँग फेरि प्रेमका कारण चर्चामा आउन खोजिरहेकी छिन् । अब, आमेषलाई त नायिका, मोडलसँग नाम जोडिएरै हिट हुने बानी परेको छ । फिल्म खेलेर त यीनले खासै चर्चा पाएनन् ।

भीम र खुश्वुलाई आमेष र एन्जिलालाई बोलाउँदा गीतलाई फाइदा नै हुन्छ भन्ने लागेको थियो होला । तर, फाइदा आमेषलाई बढी भयो ।

विचरा, गायक र मोडलले यत्रो दुःख गरे । युट्युबमा कुरा यी दुइको मात्र छ । वुझिएअनुसार, आमेष र एन्जिला प्रेममा छन् । दुबैले जन्मदिन सँगै मनाउनेदेखि घुमघाम पनि गर्ने गरेका छन् ।

अब, प्रेम त दुइले गरे यसमा अरुको टाउको दुखाई किन भन्न पनि सकिन्छ । तर, गीतको भन्दा बढी चर्चा यी दुइको भएपछि गायक, गायिका, मोडललाई पर्नु पिर परेकै होला । उही ‘काम गर्ने कालु, मकै खाने भालु’लाई अर्को भाषामा भन्नुपर्दा ‘काम गर्ने भीम र खुश्वु, चर्चा पाउने आमेष र एन्जिला’ । आमेषजी, प्रेमिका र पूर्व प्रेमिकाकै कारण चर्चा चै कहिलेसम्म पाउने हो कुन्नी ।