३० मिनेट पर्खिएर बोर्डमा भुवनको प्रवेश, गोलमेच सम्मेलन गर्ने घोषणा
चलचित्र विकास बोर्डमा नव–नियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन् । चलचित्र विकास बोर्डमा बिहान १० बजे नै पुगेर भुवनले पदभार ग्रहण गरेका हुन् । भुवनलाई चलचित्र विकास बोर्डका कर्मचारीहरुले स्वागत गरेका थिए । तर, बोर्डको प्राङ्गणमा १० बजे पुगेपनि भुवनले करिब ४५ मिनेट बाहिरै बिताउनुपर्यो ।
विकास बोर्डका यसअघिका अध्यक्षले पूजाआजा गरेर बोर्ड प्रवेश गरेका थिएनन् । तर, ४५ मिनेट कुरेर साढे १० बजेको साइतमा भुवनले बोर्ड परिसरमा पुजा गरे । पण्डित कृष्ण भारद्धाजले भुवनका लागि मन्त्र उच्चारण गरेका थिए ।
पौने ११ बजे पदभार ग्रहण गर्दै अध्यक्ष केसीले चाडै नै दर्शक, फिल्मीकर्मीलाई भेला गरेर सबैको समस्या सुन्ने र त्यसलाई लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले, नेपाली कला क्षेत्रको सम्मान नेपाल सरकारले गरेको भन्दै आफूले फिल्म क्षेत्रको विकास र विस्तारका लागि काम गर्ने बताए ।
यस्तै, उनले आफूले ४ दशक नै यो क्षेत्रमा बिताएको भन्दै यो क्षेत्रकै लागि शहिद हुन पनि आफू तयार हुने प्रतिबद्धता व्यक्त गरेका थिए । नायक केसीले विवादित मानिसलाई बोर्ड अध्यक्ष बनाएको भन्ने टिप्पणीलाई गलत भनेका छन् ।
२ बर्षे कार्यकालका लागि विकास बोर्ड प्रवेश गरेका भुवनले आफूबाट फिल्म क्षेत्र र फिल्मीकर्मीले ठूलो आशा राखेका कारण पनि आफूलाई असफल हुने अधिकार नभएको स्विकार गरे ।
प्रतिक्रिया