भुवन केसीलाई ‘महानायक’ बन्ने अवसर

नायक राजेश हमाललाई चलचित्र प्राविधिक संघले ‘महानायक’को उपाधि दिएपछि एक फिल्मको शुभसाइत समारोहमा पुगेका नायक भुवन केसी केही आक्रोशित भए । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘बरदान’को शुभसाइतमा पुगेका भुवनले घुमाउरो तरिकाले हमाललाई दिइएको उपाधिमाथि टिप्पणी गरे ।

भुवन कुनै न कुनै तरिकाले हमाललाई दिइएको ‘महानायक’को उपाधिमा सन्तुष्ट थिएनन् । उनको यो असन्तुष्टी आज पनि बेलाबखत पोखिने गरेको छ । कहिले नायक शिव श्रेष्ठको मुखबाट होस् या कहिले निर्देशक शोभित बस्नेतको मुखबाट नै किन नहोस्, भुवनले राजेशप्रति कटाक्ष गराउन छाडेका छैनन् ।

भुवन केसीलाई ‘महानायक’को उपाधि दिदा अधिकांश दर्शक सन्तुष्ट छैनन् । फिल्म क्षेत्रमा भने यो उपाधिमा बहस हुने गरेको छ ।

उपाधि कसैले मलाई दिनुपर्छ भन्दा पनि आफ्नो कामले पुष्टी गरेर प्राप्त गर्ने कुरा हो । अब, भुवन केसी त्यस्तो एउटा नेतृत्वमा पुगेका छन् जहाँबाट निस्कदा उनलाई ‘महानायक’ बन्ने अवसर प्राप्त भएको छ ।

भुवन केसीलाई राजनीतिक आस्थाका आधारमा सरकारले बोर्ड अध्यक्षमा नियुक्त गरेको हो भन्ने टिकाटिप्पणी पनि सुनिन्छ । तर, बोर्डमा राजनीतिक नियुक्तीका आधारमा नै अध्यक्ष नियुक्त गर्ने परिपाटी चल्दै आएकाले यसमा बहस गर्नुपर्ने आवश्यकता छैन । बहस, भुवन केसीले अब कस्तो काम गर्न आवश्यक छ र त्यसमा उनी कती सफल होलान् भन्ने बिषयमा भयो भने उपयुक्त हुनेछ ।

यो लेखकसँगको भेटमा भुवनले बारम्बार भन्दै आएको एउटा कुरा भन्दै आएका थिए । ‘विकास बोर्डमा म जागिर खान जान लागेको होइन । फिल्म क्षेत्रलाई मैले ४ दशकदेखि वुझेको छु । यहाँका समस्याहरु मलाई थाहा छ । सरकारको माथिल्लो निकायसम्म म यसको बिषयमा दबाब बनाउन सक्छु ।’

भुवन नेपाली फिल्मलाई विश्व बजारमा लैजाने सपना बारम्बार राख्छन् । यसका लागि सोही स्तरको फिल्म बनाउनुपर्ने, सरकारले यसमा सहयोग गर्नुपर्ने उनको तर्क छ ।

अर्कोतिर, विदेशी फिल्मको थिचोमिचोको बिषयमा त भुवनले बारम्बार आवाज उठाउँदै आएका छन् । विशेषगरि, आफ्ना वा छोरा अनमोल केसीको फिल्म रिलिजको समयमा भुवनको आवाज बढी सुनिएको हो ।

भुवनसँग २ बर्षमा गर्ने काम धेरै छन् । ती काममध्ये केही काम यस्ता छन्, जुन काम उनी सबैले देख्ने गरि गर्न सक्छन् । फिल्म क्षेत्रका थुप्रै समस्या समाधान गर्ने स्थानमा उनी पुगेका छैनन् । तर, केही समस्या समाधान गरेको खण्डमा भुवन केसीलाई फिल्म क्षेत्रको ‘महानायक’ बन्ने अवसर प्राप्त हुनेछ ।

दर्शकको नजरमा को ‘महानायक’ हुन्, त्यो बिषयमा बहस हुदै आएको छ । तर, आफूले बोलेका कुरामात्र पुरा गर्न सकेको खण्डमा भुवन केसी फिल्म क्षेत्रको ‘महानायक’ बन्न सक्नेछन् । २ बर्ष विकास बोर्डको कुर्सीबाट बाहिर निस्कदै गर्दा भुवन केसी कि त फिल्म क्षेत्रको ‘महानायक’ भएर निस्कनेछन्, कि त उनले पाएको ‘सुपरस्टार’को उपाधि पनि आलोचित हुनेछ । कसरी काम गर्ने भुवन केसीकै हातमा ।