विकास बोर्डमा भूवन केसीः बोलेका कुरा पुरा गरे मात्र पुग्छ
चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएपनि नायक भूवन केसीको लबिङ र राजनीतिक शक्तिले काम गर्यो । कलाकार निर शाहलाई राष्ट्रिय सभाको सदस्य बनाउनुपर्ने माग राख्दै भूवन केसीले शर्तसहित नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । यसैले, भूवनको कांग्रेस पार्टी प्रवेश चलचित्र विकास बोर्डका लागि थियो भन्ने कुरामा दुईमत थिएन । अन्ततः राजनीतिको चर्को सोर्सफोर्ससहित उनी यसपटक नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको नेतृत्व २ बर्षका लागि सम्हाल्न पुगेका छन् ।
भूवन केसी फिल्म क्षेत्रका हरेक विधामा सफल मानिन्छन् । नायकको रुपमा सधै नै सफल रहेका भूवन निर्माताको रुपमा पनि सफल भए । नायकको रुपमा सर्वाधिक धेरै १०० दिन, ५१ दिन मनाउने फिल्म मात्र होइन, रजत जयन्ती मनाउने फिल्म पनि उनकै नाममा छ । निर्माताको रुपमा ‘नेपाली बाबु, करोडपति, ड्रिम्स, क्याप्टेन, साथी म तिम्रो’ जस्ता फिल्म उनले दिएका छन् । तर, कुनै पनि सर्वोच्च संस्थाको कुर्सी सम्हालेको अनुभव भने उनीसँग छैन । यसैले, उनी यसपटक प्रशासनीक रुपमा सफल हुन आवश्यक छ ।
भूवन केसीले आफूले ४ दशक लामो समय फिल्म क्षेत्रमा बिताएका अनुभवहरुलाई मात्र बोर्डको नेतृत्व सम्हाल्दा कार्यान्वयन गर्न सके भने उनी सफल हुनेछन् । नेपाली फिल्म क्षेत्रमा सुपरस्टार बनेर सधै नै दर्शकको मनमा छाप छाड्न सफल यी नायकले विकास बोर्डमा पुगेर काम गर्न सकेनन् भने उनको उचाई घट्ने निश्चित छ ।
यसैले, विकास बोर्डको कुर्सी सम्हाल्दै गर्दा भूवन केसीबाट नेपाली फिल्म क्षेत्र, निर्माता, कलाकारदेखि हरेक विधाका मानिसहरुले ठूलो अपेक्षा राख्न सक्छन् । फिल्म बनाएका कारण निर्माता र प्राविधिक, अभिनय गरेका कारण कलाकारको समस्या उनलाई राम्रोसँग थाहा छ । फिल्म निर्देशन गरेका कारण निर्देशकको समस्याबाट पनि उनी अछुतो छैनन् ।
नेपाली फिल्मलाई विदेशी फिल्मले सधै नै मिच्दै आएको भनाई भूवनका मुखबाट खुबै सुनिन्थे । अब, उनले यो बिषयमा चर्को रुपमा आवाज उठाउन जरुरी छ । किनकी, नेपाली फिल्मका लागि मात्र भएपनि उनले केही सहज रिलिजको वातावरण बनाइदिएको खण्डमा उनको नाम सधै नै फिल्मकर्मीले संझिनेछन् ।
भूवन केसी फिल्म क्षेत्रका हरेक विधामा सफल छन् । फिल्म क्षेत्रको सर्वोच्च निकायमा पुगेर उनले एउटा सफलता त हात पारेका छन् । तर, यो अग्लो ठाउँबाट फिल्म क्षेत्र नियाल्दै गर्दा विश्व बजारमा नेपाली फिल्मलाई पुर्याउने उनको सपना पुरा हुने अवस्थामा आएको छ । यस्तो अवस्थामा भूवनको सोच र विचारमा कही कतैपनि अपरिपक्कता देखियो भने उनी असफल हुनेछन् र दर्शकबाट पाएको सुपरस्टारको ट्याग उनका लागि आगामी दिनमा भारी पर्नेछ । भूवनले सोचविचार गरेर काम गरुन्, शुभकामना ।
प्रतिक्रिया