फिल्ममा नभएपनि पुष्प गुच्छा लिएर पुगे जितु

हाँस्य कलाकार जितु नेपालले दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरेको टिमसँग व्यवसायीक सम्बन्ध तत्काल नरहेपनि व्यक्तिगत सम्बन्धमा कुनै खटपट नभएको देखाउन खोजेका छन् । आज भक्तपुरको सूर्यविनायकमा फिल्म ‘छक्का पन्जा ४’को शुभसाइत हुँदै गर्दा जितुलाई कसैले पनि याद गरेको थिएन । तर, जितु हातमा फूलको बुके बोकेर मन्दिर पुगेका थिए ।

उनले, फिल्मको सफलताको कामना गरे । फिल्ममा आफू रहनु र नरहनुले कुनै अर्थ नराख्ने भन्दै जितुले टिमसँग आफ्नो सम्बन्ध फिल्मको लागि मात्र नभएको बताए ।

जितुले आम दर्शकले पनि सम्बन्ध विग्रिएको तरिकाले वुझ्न नहुने बताए । उनले भने–‘हाम्रो काम गर्ने शैली नै फरक छ । दीपकजी र केदारले एउटै प्रोजेक्टमा निरन्तर काम गर्नुपर्छ भन्ने सोच राख्नुहुन्छ । म भने स्वतन्त्र छु । म राम्रो कथा र पैसा आएको खण्डमा जोसँग पनि काम गर्न तयार छु । यो आ आफ्नो स्वभाव हो ।’

दीपकले पनि जितुसँग सम्बन्ध बिग्रिएको भन्दा पनि यसपटक सहकार्य नभएको बताए । तर, एउटा फिल्ममा सहकार्य नहुने वित्तिकै सम्बन्ध नै सकिएको भनेर वुझ्दा गलत हुने उनको भनाई थियो । उनले, आफूहरुको सम्बन्ध एउटा फिल्मका लागि मात्र नभएको जिकिर गरे ।

‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म निरन्तर फिल्मको मुख्य कलाकार भएर काम गर्दै आएका जितु यसपटक ‘छक्का पन्जा ४’मा देखिने छैनन् । कलाकार तथा कार्यकारी निर्माता केदार घिमिरेले जितुलाई फिल्मको कुनै दृश्य वा गीतमा मात्र भएपनि राख्न खोजेको तर त्यो प्रयास कथाका कारण सफल हुन नसकेको बताए ।