दीपक र दीपाको ‘छक्का पन्जा ४’ को शुभ मुहूर्तसँगै छायाङ्कन सुरु

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्ने नयाँ फिल्म ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु भएको छ ।

निर्माण टिमले सोमवार सूर्यविनायकमा पूजाआजा गर्दै ‘छक्का पञ्जा ४’ नाममै र कलाकारको नाम औपचारिक रुपमा घोषणा गरेको हो । फिल्ममा निर्देशक र केही कलाकार परिवर्तन भएका छन् ।

आमा सरस्वती मुभिज प्रालिको प्रस्तुतिमा निर्माण हुने यो फिल्मलाई हेमराज बिसीले निर्देशन गर्दैछन् । यसअघिका तीनै शृंखला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । कात्तिक दोस्रो साता प्रदर्शन योजना रहेको फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल र मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहने बताइएको छ  ।

हेमराज विसीको निर्देशन रहने फिल्ममा ‘६ एकान ६’ बाट दीपक–दीपा समूहसँग जोडिएर काम गर्दै आएका जितु नेपाल भने यसपटक रहेका छैनन् ।

योबाहेक फिल्मबाट निर्माताको टिम पनि अलग्गिएको छ । यसअघि फिल्ममा साझेदार रहँदै आएका सुमन गिरी र निशान बजगाँई यो फिल्मको निर्माण समूहबाट अलग भएका छन् । उनीहरूले जितु नेपालसँग मिलेर फिल्म निर्माण गर्ने तयारी गरिरहेका छन् ।

यसैगरी यो फिल्मबाट राज आचार्यले डेब्यू गर्दैछन् । फिल्मको यो शृंखलामा यसपटक मलिना जोशी र बेनिशा हमाल थपिएका हुन्।