अभिनेता पुष्पले वृक्षारोपण गरेर मनाए जन्मदिन
आज अभिनेता पुष्प खड्काको ३२ औं जन्मदिन । काठमाडौंस्थित शंखमुलमा उनले बिहानै वृक्षारोपण गरेर जन्मदिन मनाएका छन् ।
उद्योग र कलकारखानाबाट हुने कार्बन उत्सर्जनका कारण हरेक वर्ष पृथ्वीको सतह तातो हुँदै गएको र जलवायु परिवर्तन भइरहेको अवस्थामा वृक्षारोपणको महत्व अझै बढेर गएको उनले बताए । उनले वृक्षारोपण गरेर प्रकृति संरक्षणमा लाग्न सबैलाई आग्रह समेत गरेका छन् । अभिनयसँगै समाजसेवामा पनि पुष्पको रूची छ । उनी समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न पछि पर्दैनन् । दर्पणछाँया-२, मंगलम्, मारुनीलगायतका फिल्महरुमा अभिनय गरिसकेका पुष्प झन्डै हजार म्युजिक भिडियोमा देखिएका छन् । मंगलम् फिल्मबाट उनले २०७४ सालमा उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय अवार्ड जितेका थिए ।
कैलालीको लम्किचुहा नगरपालिकामा जन्मिएका पुष्पले जन्मदिनमा आमा–बाबुलाई मिस गरिरहेको बताए । ‘जन्म दिने मम्मी र बाबुलाई बर्थ डे केक खुवाउने सौभाग्य अझै मिलेको छैन, यसपाला पनि म यहाँ र मम्मी-बुबा गाउँमा हुनुहुन्छ ,’ उनले भने,‘ सानो छँदा हाम्रो गाउँघरमा केक काट्ने कल्चर थिएन । साथीभाई सर्कलमा कसैले पनि केक काटेको देखेको थिइँन।
कलेज पढ्दा बल्ल साथीहरुले केक काटेको देखेँ । कलेज सकिएपछि म संघर्षका लागि काठमाडौं आएँ, त्यहीकारण रहर हुँदा हुँदै पनि आमा–बुबासँग केक काटेर जन्मदिन मनाउन पाइएको छैन । तर, उहाँहरुको साथ, हौसला र आर्शिवाद सधैं पाएकाले धन्य महसुस गरेको छु ।’
पुष्पले आजै ‘कृष्ण लिला’ फिल्म युनिटसँगै बसेर बर्थ डे केक काटेका छन् । संयोगवश, आजै ‘कृष्ण लिला’ का निर्देशक दीपक ओलीको पनि जन्मदिन परेको छ ।
त्यो पहिलो केक
पुष्प यतिबेला आफ्नो पहिलो म्युजिक भिडियो गर्दै थिए । हेमन्त शर्माको ‘के माया गर्नुहुन्न र ’ बोलको उक्त भिडियोको निर्देशन आलोक नेम्वाङले गरिरहेका थिए । ‘‘ह्याप्पी बर्थ डे टु मी,’ पुष्पले फेसबुकमा यस्तो स्ट्याटस लेख्नासाथ निर्देशक आलोक नेम्वाङले फोन गरेर शुभकामना दिए । ‘जन्मदिनको प्लान के छ रु’ आलोकको प्रश्न थियो । ‘खास त्यस्तो केही छैन सर,’ पुष्पले जवाफ दिए ।
आलोकले दिउँसो कुनै रेस्टुरेन्टमा पुगेर खाजा खाने प्लान बनाए । मोडल अनिल थापा र पुष्प रेस्टुरेन्टमा पुगेपछि आलोकले केक काटेर सरप्राइज दिए । पुष्पलाई फिल्ममा डेब्यु गराउने श्रेय पनि आलोकलाई नै जान्छ । ‘अझै पनि’ फिल्ममार्फत पुष्पले ठूलो पर्दामा इन्ट्री गरेका हुन् । ‘संघर्षका दिनमा उहाँले मलाई निकै सहयोग गर्नुभयो । तिमीले कोठा भाडा ति¥यौं कि छैन । गाडी भाडा तिर्न पैसा छ कि छैन भनेर पनि सोध्नुहुन्थ्यों,’ पुष्पले संझिए,‘आज म उभिएको बेला उहाँ यो संसारमा हुनुहुन्न । मलाई निकै दुख लाग्छ । उहाँ कसैलाई नबिझाउने व्यक्ति, प्रकृति, मानिस र जनावर सबैलाई समान प्रेम गर्नुहुन्थ्यों ।’ निर्देशक नेम्वाङको कात्तिक २०७१ मा निधन भएको थियो ।
प्रतिक्रिया