२ फिल्ममा ‘गर्भवती महिला’को भूमिकामा श्रृष्टी

गतबर्ष रिलिज भएको फिल्म ‘चिसो एष्ट्रे’बाट नायिका श्रृष्टी श्रेष्ठले जति आशा राखेकी थिइन्, त्यती नै आशा उनीबाट दर्शकमा पनि थियो । उनले, पनि आफूले यस्तो काम अहिलेसम्म गर्न नपाएको भन्दै अन्तरवार्ता दिइन् । तर, फिल्म हेरिसकेपछि उनी पनि हिस्स भइन् । दर्शक पनि हिस्स नै भए । फिल्ममा उनले प्रचार गरे जस्तो उनको बलियो भूमिका नै थिएन ।

उनै, श्रृष्टीले अभिनय गरेका २ फिल्म एक साताको अन्तरमा भदौमा रिलिज हुँदैछन् । भदौको ३ गते श्रृष्टीले नै केन्द्रिय भूमिकामा काम गरेको फिल्म ‘माइकल अधिकारी’ रिलिज हुँदैछ । यसको एक सातापछि भदौ १० गते उनको शिर्ष भूमिका रहेको फिल्म ‘राधा’ रिलिज हुँदैछ ।

यी दुबै फिल्ममा श्रृष्टी गर्भवती महिलाको भूमिकामा छिन् । ‘माइकल अधिकारी’मा आर्थिक अभाव भएपछि कोख भाडामा दिने महिलाको भूमिकामा उनलाई देख्न सकिन्छ । यस्तै, ‘राधा’मा श्रृष्टीलाई श्रीमान्को पर्खाइमा बसेकी एक गर्भवती महिलाको भूमिकामा हेर्न सकिन्छ ।

एक सातामा २ तर उस्तै प्रकृतिका फिल्म रिलिज हुँदा पक्कै पनि दर्शक झुक्किने छन् । ‘राधा’ र ‘माइकल अधिकारी’ दुबैमा श्रृष्टीको श्रीमान्को भूमिकामा उनका प्रेमी सौगात मल्ल देखिएका छन् ।