जता नयाँ पार्टी, त्यतै हरिहर अधिकारी
ज्योतिष तथा कलाकार हरिहर अधिकारीले केही दिन अगाडि मात्र नायिका नीता ढुंगानासँग बिहे गरे । नीतासँग बिहे गरेको चर्चा सेलाउन नपाउँदै फेरि हरिहर राजनीतिक यात्राका कारण चर्चामा छन् ।
संचारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा हरिहर प्रवेश गर्न लागेको चर्चा छ । केही हप्ता अगाडि मात्र खुलेको यो पार्टीमा हरिहरले मन बनाएका छन् । रविले पनि हरिहरलाई पार्टी प्रवेश गरेर चुनाव लड्न सुझाव दिएका छन् ।
उसो त, हरिहरले राजनीतिक यात्रा थाल्न लागेको यो पहिलो पटक होइन । यस अगाडि पनि रविन्द्र मिश्रले नयाँ पार्टी खोल्ने वित्तिकै हरिहरले पार्टी प्रवेश गरेका थिए । हरिहर ‘साझा पार्टी’मा प्रवेश गरेर निर्वाचन लड्ने चर्चा थियो ।
हरिहरले पार्टी त रोजे तर उनको राजनीतिक यात्रा खासै गतिलो तरिकाले अगाडि बढेन । बरु, ‘साझा पार्टी’ नै विवादले छिन्न भिन्न भयो ।
यसैले, हरिहर नयाँ पार्टी खुल्ने वित्तिकै मन बनाउने र प्रवेश गरिहाल्ने सोचमा त हुँदैनन् भन्ने प्रश्न उठेको छ ।
रविन्द्र मिश्रले पार्टी खोल्दा त्यतै आकर्षित भएका हरिहर अहिले रवि लामिछानेले पार्टी खोल्दा पनि आकर्षित भएका छन् । केही समयपछि अर्का कुनै संचारकर्मीले पार्टी खोले भने फेरि हरिहर आकर्षित हुने के बेर ?
प्रतिक्रिया