रेनु योगीः जसले फिल्म क्षेत्रमा देखाएकी छिन् संभावना
मंगलबार सार्वजनिक गरिएको फिल्म ‘प्रकाश’को ट्रेलरमा नव–कलाकार रेनु योगीलाई खासै स्थान दिइएन । रेनु र नायक प्रदीप खड्काका तस्वीहरु जती सार्वजनिक भएका थिए त्यो अनुरुप ट्रेलरमा उनी अटाएकी छैनन् । तर, ट्रेलर रिलिज कार्यक्रममा भने रेनुले सबैलाई आफूतर्फ तान्न सफल भइन् ।
जुम्लाकी एक बालिकाको भूमिकामा देखिएकी रेनुले कस्तो अभिनय गरेकी छिन्, त्यसका लागि फिल्म हेर्नुपर्छ । तर, प्रदीप खड्का जस्ता स्टार नायकको अगाडि उनी दरिलो रुपमा उभिएकी छिन् ।
पत्रकार सम्मेलनमा अंग्रेजी बोल्दै गर्दा उनले आफूलाई रोकिन् । कारण, जुम्लाकी एक स्कुल पढ्ने बालिकाको भूमिकामा देखिएकी उनले पत्रकार सम्मेलनमा सरर अंग्रेजी बोलेको सुहाउँदैनथ्यो । भलै, उनले पत्रकार सम्मेलनमा अंग्रेजीको रफ्तारलाई रोक्न त सकिनन् तर उनी सचेत छिन् भन्ने भान सबैलाई भयो ।
रेनुले आफ्नो कुरा राख्दै गर्दा आफूलाई नयाँ कलाकार भएको महशुश नै गर्न दिइनन् । उनले, आफूमा अभिनय मात्र होइन बोल्ने क्षमता पनि छ भनेर देखाउन कसर बाँकी राखिनन् ।
रेनुले निर्देशक दिनेश राउतलाई ‘बिद्रोही’को संज्ञा दिदा प्रदीपले आँटिलो निर्देशक नपाएर राम्रो फिल्म नपाएको तर्क गरिदिइन् । धेरै निर्देशकको दिमाग हल्लाउने रेनुको यो बयान कम आँटिलो थिएन ।
जेहोस्, नेपाली फिल्ममा कलाकारको रुपमा रेनुले लामो यात्रा गर्न सक्छिन् । तर, उनले आफूलाई कसरी यो क्षेत्रमा उतार्छिन् भन्ने कुरा मुख्य हो । थिएटरमा राम्रो स्थान बनाएकी रेनुका लागि फिल्म क्षेत्र नयाँ छ । तर, उनले आफूलाई नयाँ महशुश हुन दिइनन् ।
प्रतिक्रिया