कन्ट्रोभर्सीले फिल्म चल्दैन भन्ने प्रदीपका कन्ट्रोभर्सी नै कन्ट्रोभर्सी
नेपालमा मात्र होइन, विश्व बजारमा नै फिल्म चलाउनका लागि कलाकार र मेकरले अनेक हतकण्डा अपनाउँछन् । विवादका कारण कैयौ फिल्मले बक्स अफिसमा तहल्का मच्चाएका पनि छन् । फिल्म राम्रो भयो भने चल्छ भन्ने तर्क हिजोआज खुबै सुनिन्छ । तर, फिल्म राम्रो भएर पनि नचलेका कैयौं उदाहरण हेर्न नेपाली बजारलाई नियाल्न सकिन्छ ।
फिल्म चलाउनका लागि नेपाली कलाकारहरु पनि विवाद निकाल्न खुबै सिपालु छन् । फिल्मका लागि नायक–नायिकाको प्रेम चर्चादेखि रोनाधोना, आरोप–प्रत्यारोप त सामान्य नै भैसकेको छ ।
नायक प्रदीप खड्काले मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा फिल्म कन्ट्रोभर्सीले नचल्ने बताए । अरुले रोएर फिल्म चलाउँछन् भने आफूले हाँसेरै चलाउने उनको तर्क थियो ।
तर, फिल्म चलाउनका लागि प्रदीपले गरेका कन्ट्रोभर्सीको सूची पनि कम छैन । फिल्म ‘प्रेमगीत’पछि फिल्म क्षेत्रमा उदाएका प्रदीपले निर्देशकसँग विवाद, नायिकासँग झगडा र प्रेमका कैयौं उदाहरण पेश गरिसकेका छन् ।
फिल्म ‘लिलिबिली’को पत्रकार सम्मेलनमा प्रदीपका लागि ४ जना विदेशी बडिगार्डको नै व्यवस्था गरियो । पत्रकार सम्मेलनमा प्रदीपका लागि बडिगार्डको व्यवस्था हुँदा यसले ठूलै हंगामा मच्चायो । यो, विवादले फिल्मलाई कही नै कही फाइदा भयो ।
फिल्म ‘लिलिबिली र लभ स्टेशन’मा काम गर्दा प्रदीप र नायिका जसिता गुरुङको प्रेम चर्चा खुबै चल्यो । यी दुइको सम्बन्ध आज चिसिएको छ । तर, फिल्ममा काम गरुन्जेल भने उनीहरुले प्रेमको चर्चालाई सेलाउन दिएनन् ।
फिल्मले फिल्म रिलिज भएको दिनमा नभएर एक हप्तापछि समिक्षकले फिल्मको समीक्षा गर्नुपर्ने तर्क पेश गरे । उनको, यो भनाइले चर्को विवाद खडा गर्यो । फिल्म रिलिज भैरहेको समयका समीक्षकमाथि प्रदीपको यो सुझावले फिल्मलाई भने फाइदा नै गर्यो । फिल्म ‘प्रेमगीत’को रिलिजपछि प्रदीपको सम्बन्ध निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मासँग बिग्रियो । यसपछि, उनीहरुले आजसम्म एकसाथ काम गरेका छैनन् । फिल्म ‘लिलिबिली’मा काम गरेपछि उनको सम्बन्ध निर्देशक मिलन चाम्ससँग पानी बाराबारको अवस्थामा पुग्यो । यसपछि, यी दुइले पनि एकसाथ काम गरेका छैनन् ।
फिल्म ‘लभ स्टेशन’लाई एक टर्कीस फिल्मबाट कपीको आरोप लाग्यो । फिल्मलाई पुरै कपीको आरोप लागेपछि प्रदीपले समीक्षकलाई एक सातापछि फिल्मको समीक्षा गर्न सुझाव दिए । उनी जस्तो चलेको र बौद्धिक नायकले यो खालको सुझाव दिदा त्यसले विवाद खडा गरेको थियो ।
फिल्म ‘प्रकाश’कै ट्रेलर रिलिजको समयमा प्रदीपका फ्यानको ठूलो भीड हलमा देखियो । हलमा फ्यान जम्मा गरेर प्रदीपले आफ्नो स्टारडम देखाउन मात्र खोजेनन्, फिल्मलाई उचाईमा ल्याउनका लागि राम्रै योजना पनि बनाएको देखियो ।
फिल्म चलाउनका लागि प्रदीपले पनि थुप्रै तिकडम अपनाएका छन् । उनले, अब ‘प्रकाश र प्रेमगीत ३’का लागि के कस्तो योजना बुनेका छन्, त्यो बिस्तारै खुल्दै जाला ।
प्रतिक्रिया