सेलिब्रिटीको फ्यान जम्मा गर्ने होडबाजी
मंगलबार आयोजना भएको फिल्म ‘प्रकाश’को ट्रेलर रिलिज कार्यक्रममा नायक प्रदीप खड्काका २ दर्जन बढी फ्यान उपस्थित थिए । कार्यक्रममा उपस्थित भएका फ्यानहरुले प्रदीपका नाममा ठूलै हुटिङ गरे ।
उनीहरुले ‘प्रदीप’ भन्दै चर्को हुटिङ गर्दा बीग मुभिजको परिसर नै प्रदीपमय भयो । तर, प्रदीपले भने हुटिङ चर्को हुँदा फ्यानलाई नकराउन आग्रह गरिरहेका थिए । प्रदीपकै भाषामा भन्नुपर्दा निर्माण टिमले फ्यान छनोट गरेर ट्रेलर देखाउन ल्याएको हो । तर, उनीहरुले प्रदीपलाई छाड्दै छाडेनन् । सोझो भाषामा भन्नुपर्दा, प्रदीपलाई पनि कार्यक्रममा फ्यान जम्मा गरेर स्टारडम देखाउने राम्रै मौका मिलेको थियो । उसो त, फ्यान जम्मा गर्ने र स्टारडम देखाउने होडबाजी पहिलो पटक भने होइन ।
शनिबार मात्र फिल्म ‘संझना विर्सना’को लागि हलमा पुगेका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माविच पनि फ्यान देखाउने होडबाजी नै चल्यो । केही फ्यान पूजा र केही फ्यान आकाशतिर विभाजित हुँदा माहोला सुखद भएन ।
कुनै समय यी दुइका लागि एकसाथ केक काट्ने र महंगा उपहार दिने फ्यानहरु अहिले विभाजित भएका छन् । तर, यो विभाजन हलमा भने निक्कै नै गलत अर्थमा देखियो । कसको फ्यान बढी र कसको नाममा हुटिङ बढी हुने भन्ने होडबाजी चलेको देखियो ।
यस्तै, फ्यान देखाउने होडबाजी नायक अनमोल केसी र पल शाहको कार्यक्रममा पनि देखिन्थ्यो । अनमोल केसीको कुनै सार्वजनिक कार्यक्रममा उनका केही फ्यान पहिले नै पुग्छन् र हुटिङ गर्छन् । पल शाहको कार्यक्रमदेखि हलमा पनि फ्यानको यस्तै खालको हुटिङ देखिन्छ ।
केही समय अगाडि नायिका स्वस्तिमा खड्काको फिल्म ‘चिसो मान्छे’को कार्यक्रममा पनि फ्यानको यस्तै भीड देखिएको थियो ।
नेपाली फिल्मका केही स्टार नायक–नायिकाहरुलाई आफ्नो फिल्मको कार्यक्रममा फ्यान बोलाउने र हुटिङ सुन्ने बानी परेको छ । फ्यानहरुको यो खालको माया कुनै पनि कलाकारका लागि सुखद कुरा हो । तर, अरुलाई देखाउनका लागि फ्यानको होडबाजी भने सुखद होइन ।
प्रतिक्रिया