रवि लामिछानेको पार्टी प्रवेश गर्दै हरिहर
अभिनेता एवं ज्योतिष हरिहर अधिकारी रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रवेश गर्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बसुन्धरास्थित पार्टी कार्यालयमा हिजो नै पुगेर हालै विवाह वन्धनमा बाँधिएका हरिहर र उनकी पत्नी अभिनेत्री नीता ढुंगानाले रविसँग लामो छलफल गरेका थिए ।
स्रोतका अनुसार छलफलमा रविले हरिहरलाई काठमाडौंबाट आगामी संसदीय चुनावमा उम्मेदवार बन्न प्रस्ताव गरेको बुझिएको छ । करिब १ घन्टा छलफल भएको स्रोतले बतायो ।
रविको अनुरोधलाई उद्धृत गर्दै स्रोतले भन्यो ‘अब युवाहरु नै राजनीतिमा अगाडि बढ्ने हो, तपाईंलाई हाम्रो पार्टीका तर्फबाट चुनावमा सहभागी हुन अनुरोध गर्दछु,’ ।
हरिहरले चाहेमा उनलाई काठमाडौं वा दाङबाट टिकट दिन रवि तयार रहेको स्रोतले बताएको छ । हरिहरको स्थायी घर दाङ हो । यद्यपि, उनी अहिले काठमाडौंका मतदाता हुन् । यसमा हरिहरले सोचेर निर्णय लिई बताउने बुझिएको छ ।
हरिहर भने स्वतन्त्र पार्टीमा आवद्ध हुन सहमत भइसकेको स्रोतको भनाइ छ । उनी सक्रियरुपमा नै पार्टीमा लाग्ने र नीताले चाहिँ समर्थकको रुपमा मात्रै सो पार्टीलाई साथ दिने समझदारी भएको बुझिएको छ ।
हरिहरले हिजोको भेटघाटका क्रममा स्वतन्त्र पार्टीको कार्यालयको वास्तु समेत हेरिदिएका थिए । उनले कार्यालयभित्र सामान्य हेरफेर गर्न सुझाव दिएका छन् ।
हालै निता र हरिहर विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुले चार वर्षे प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका थिए । यस्तै यो जोडीले नै नयाँ फिल्म ‘ह्रस्व दीर्घ’को पनि छायाकंनमा जाने तयारी गर्दै छ। ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएको छ ।
प्रतिक्रिया