प्रियंकालाई फिल्म क्षेत्रले फेरि स्विकार्दैन कि भन्ने डर

नायिका प्रियंका कार्कीले बिबाह, कोरोना महामारी र छोरी जन्माएपछि आफूलाई यो क्षेत्रले स्विकार गर्ला कि नगर्ला भन्ने डर सधै लागेको बताएकी छिन् । तर, फिल्म क्षेत्रमा फर्किनका लागि आफूले मिहिनेत भने गर्न सक्ने उनको विश्वास थियो ।

सोमबार आयोजित फिल्म ‘राधा’को पत्रकार सम्मेलनमा बोल्दै प्रियंकाले आफूलाई फिल्म क्षेत्रले कमब्याकका लागि सहजै स्विकार गरेको भन्दै धन्यवाद दिइन् । विशेषगरि, नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्लले आफूलाई कमब्याकका लागि साथ दिएको उनको तर्क थियो ।

आमा बनेपछि आफ्नो तौललाई पुरानै अवस्थामा फर्काउन निक्कै कसरत गरेकी नायिकाले धेरैको मुखबाट यस्तो शरीरले अब प्रियंकाले कसरी काम गर्छिन् भन्ने सुनेको पनि बताइन् । उनले भनिन्–‘मलाई त आफूमाथि विश्वास थियो । तर, आमा बनेपछि मलाई धेरैले फिल्म क्षेत्रमा फर्किन गाह्रो हुन्छ भनेर टिप्पणी गरेका थिए । तर, ममा पहिलेको जस्तै जोश र जागर छ ।’

नेपाली फिल्म क्षेत्रमा कुनै समय नम्बर १ स्थान बनाएकी प्रियंका अहिले भने राम्रो भूमिकाको खोजीमा छिन् । उनले, आफ्नै कम्पनीबाट फिल्म बनाउने तयारी समेत गरेको तर्क गरेकी छिन् ।