सौगातलाई श्रृष्टीबारे अप्ठ्यारो प्रश्न

नायक सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’ भदौ १० गतेबाट चल्दैछ । यो फिल्ममा नायिका श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छिन् । फिल्ममा श्रृष्टीले श्रीमान्को पर्खाइमा बसेकी एक गर्भवती महिलाको भूमिकामा काम गरेकी छिन् । यसैले, पनि श्रृष्टीका लागि यो फिल्म विशेष हुनसक्छ ।

तर, श्रृष्टीलाई सौगातले प्रेमिका भएकै कारण लिएको आरोप लाग्न थालेको छ । बक्स अफिसमा खासै सफल नमानिएकी श्रृष्टीलाई शिर्ष भूमिकामा राखेर सौगातले किन लगानी गरे भन्ने प्रश्न उब्जनु स्वभाविक नै हो ।

काठमाडौंमा आयोजित गीत रिलिज कार्यक्रममा श्रृष्टीको बारेमा सौगातलाई यस्तै प्रश्न गरियो । जसमा जवाफ दिदै सौगातले श्रृष्टीलाई आफ्नो मान्छे भएर मात्र नराखिएको प्रतिक्रिया दिए । उनले, श्रृष्टीलाई आफूले भन्दा पनि निर्देशक सुवर्ण थापाले नै काम गराउने रुची देखाएको बताए ।

निर्देशक सुवर्ण थापाले भने श्रृष्टी सौगातको प्रेमिका भन्दा पनि पहिले कलाकार हुन् भनेर वुझ्नु पर्ने बताए । उनले, श्रृष्टीले फिल्ममा उत्कृष्ट काम गरेको प्रतिक्रिया दिए । नायक सौगात मल्लले पहिलो पटक फिल्ममा निर्माताको रुपमा काम गर्दा धेरै कुराको अनुभव गर्न पाएको सुनाए । साथै, उनले आफूले काम गरेका फिल्मका निर्मातालाई कुनै दुःख नदिएको तर दिएको भए माफी दिन आग्रह समेत गरे ।