‘चिसो मान्छे’ हेर्ने केपी ओलीको चाहना, निर्मात्री पाण्डे एमाले प्रवेश गर्दै

फिल्म ‘आमा र चिसो मान्छे’की निर्मात्री शर्मिला पाण्डे नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले, आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको चाहना राखेकी हुन् । ओलीले पनि शर्मिला जस्तो सक्रिय महिला पार्टीमा आउँदा पार्टीलाई फाइदा हुने बताएका थिए ।

भेटबारे जानकारी गराउँदै उनले भनिन्–‘म पहिलेदेखि नै एमाले समर्थित मानिस हुँ । तर, आजसम्म कुनै पनि पार्टीको सदस्यता लिएकी छैन । तर, अब भने सक्रिय रुपमा पार्टीमा लाग्ने र फिल्म पनि बनाउने योजना छ । सोही अनुरुप आज अध्यक्ष ज्यूलाई भेटेकी हुँ ।’

पाण्डेले यसै साता आफू एमालेमा प्रवेश गर्ने पनि बताइन् । भेटमा अध्यक्ष ओलीले पाण्डेले निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ हेर्ने चाहना राखेका थिए । उनले भनिन्–‘अध्यक्षज्यूले तपाइको नाम धेरै सुनेको थिएँ भन्नुभयो । साथै, चिसो मान्छे हेर्ने चाहना पनि राख्नुभयो । चाडै नै फिल्मको शो आयोजना गर्छौ ।’

यस्तै, निर्मात्री पाण्डेले यो पटक आफूले सामान्य कार्यकर्ता भएर पार्टीलाई सहयोग गर्ने र आगामी ५ बर्षपछि टिकट पाए निर्वाचन नै लड्ने बताइन् ।