‘प्रकाश’ व्यवसायिक फिल्म होः प्रदीप खड्का

भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को प्रचारमा नायक प्रदीप खड्का दौडिरहेका छन् । शुक्रबार चितवन पुगेका प्रदीपले स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै यो फिल्मलाई व्यवसायिक फिल्म होइन भन्न नमिल्ने बताएका छन् । प्रदीपले जुम्लामा खिचिएको भन्दैमा फिल्मले व्यवसायिक पाटोहरुलाई समातेको हुँदैन भनेर वुझ्न नमिल्ने पनि बताए ।

फिल्मका लेखक विकास सुवेदीको साथमा चितवन पुगेका प्रदीपले यो फिल्मले भोलीको कल्पना गरेको बताए । उनले, फिल्मको वान लाइन कथा सुन्ने वित्तिकै आफूले काम गर्छु भनेको पनि बताए ।

उनले भने–‘द्धन्द्धका कारण आजको अवस्था छ । तर, द्धन्द्धपछि पनि नागरिकको अवस्थामा परिवर्तन आएको छैन । यसले, अर्को विद्रोह जन्माउन सक्छ भन्ने कथा फिल्ममा छ । यो कुरा सुन्ने वित्तिकै मलाई काम गर्न मन लाग्यो । भोलीको कुरा आजै देखाउने फिल्ममा काम गर्न हरेक कलाकारलाई मन लाग्छ ।’

लेखक विकास सुवेदीले यो फिल्म जुम्लाको मात्र नभएर देशभरका यूवाहरुको साझा समस्यामा बनेको बताए ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीपका अलवा दीया मास्के, रेनु योगी लगायतका कलाकारको अभिनय छ । फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।