‘कबड्डी ४’पछि फिल्मको चिसो व्यापार

नेपाली फिल्म मात्र होइनन्, विदेशी फिल्मको समेत व्यापार नचम्कदा सिनेमा भवनहरुमा सुनसान छाइरहेको छ । जेठको १३ गतेबाट रिलिज भएको फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा बम्पर कमाई गर्यो । यो फिल्म आजबाट आठौ हप्तामा प्रवेश गरेको छ । तर, यो फिल्मपछि रिलिज भएका फिल्मको व्यापार भने चिसो छ ।

सर्वाधिक अपेक्षा गरिएको फिल्म ‘चिसो मान्छे’ले समेत चिसो व्यापार गरेपछि निर्माताहरु अतालिएका छन् । यो फिल्मबाट दर्शक र फिल्मीकर्मीलाई ठूलो आशा थियो । तर, स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्मको व्यापार कमजोर भयो ।

यस्तै, फिल्म ‘घनचक्कर’ले पनि बक्स अफिस तताउन सकेन । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मको व्यापार कमजोर बन्दा अनुप बरालको प्रतिक्षित फिल्म ‘दोख’मा पनि दर्शक सुनसान देखिए ।

निरन्तर कमजोर बनेको नेपाली फिल्मको व्यापार आजबाट रिलिज भएका २ नेपाली फिल्म ‘संझना विर्सना र सिल्ली फोर’सम्म आइपुग्दा पनि तातेको छैन । भोलीका दिनदेखि यी दुई फिल्मले कस्तो व्यापार गर्छन्, भन्न सकिदैन । तर, आजको दिन यी दुबै फिल्मको व्यापार चिसो छ ।

दर्शकले कोरोनापछि ‘म यस्तो गीत गाउँछु २, ए मेरो हजुर ४ र कबड्डी ४’लाई मात्र साथ दिएका छन् । यसले, दर्शकको ध्यान सिरिज भन्दा बाहेकका फिल्ममा देखिएको छैन ।