‘बिजुली च्याप्टर १’ घोषणा संगै फर्स्टलुक सार्वजनिक

मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ औपचारिक घोषणा संगै फर्स्टलुक सार्वजनिक

फिल्म ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरेर फिल्मको फर्स्ट लुक सार्वजनिक संगै फिल्म निर्माणको घोषणा गरिएको हो।

विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यु निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन्। बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी रहेको छ।

क्रियटिभ प्रोडूसर केदार भुसाल रहने फिल्मको छायाँकन भदौ तेस्रो साताबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ। हरि घले लामाले छायाँकन गर्ने फिल्ममा एसोसियट निर्देशक आयुष बिसी, मुख्य सहायक निर्देशक शंकर धिताल, प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन्।

चार युग सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए। सोसियल ड्रामा तथा सस्पेन्स कमेडी जनराको फिल्मले नेपाली दर्शकलाई एउटा फरक टेस्ट दिने क्रियटिभ प्रोडूसर केदार भुसालले बताए।

फिल्मको कथा अनुसार आफुले आफ्नो भूमिकाको लागि निकै नै मेहनत गर्नु पर्ने अभिनेता मुकुन भुसालले बताए। यस फिल्ममा आफुले अहिले सम्म गरि रहेको काम, आफ्नो लुक्स तथा रोलमा निकै भिन्नता दर्शकले पाउने भुसालले बताए। अभिनेत्री बेनिषा हमालले नयाँ र जोश जाँगर बोकेर नेपाली फिल्म क्षेत्रमा केहि गरौँ भनेर लागेको टिमसंग काम गर्न पाउँदा आफुलाइ एकदम खुसि लागेको बताइन् ।